फेरि बढ्यो डिजेल-पेट्रोलको मूल्य
काठमाडौं। भारतमा पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ८७ पैसा बढेर ९९ रुपैयाँ ५१ पैसा पुगेको छ भने डिजेलको मूल्य ९१ पैसा बढ्दै ९२ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
पछिल्ला नौ दिनभित्र भारतमा इन्धनको मूल्य तेस्रो पटक बढाइएको हो । लगातार भइरहेको मूल्यवृद्धिले भारतको बजारसँगै नेपालमा पनि प्रत्यक्ष प्रभाव पार्ने संकेत देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दै जानु मूल्यवृद्धिको मुख्य कारण मानिएको छ । इरान–अमेरिका तनाव, पश्चिम एसियामा बढ्दो अस्थिरता तथा आपूर्ति प्रणालीमा देखिएको दबाबका कारण विश्व बजारमा तेलको भाउ उकालो लागिरहेको बताइएको छ ।
भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको नेपालमा पनि अब इन्धनको मूल्य पुनः समायोजन हुन सक्ने अनुमान गरिएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाउने नयाँ खरिद मूल्यका आधारमा नेपाल आयल निगमले प्रत्येक १५ दिनमा इन्धनको मूल्य पुनरावलोकन गर्दै आएको छ ।
