`

अन्तर्राष्ट्रिय तेल बजारमा कच्चा तेलको मूल्यमा करिब ५ प्रतिशत गिरावट

Nepal One HD ११ जेठ २०८३ १५:१०
अर्थ समाचार

एजेन्सी। अमेरिका र इरानबीच शान्ति वार्ता अघि बढ्ने सम्भावनाबारे आएको समाचारपछि सोमबार अन्तर्राष्ट्रिय तेल बजारमा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले घटेको छ।

मध्यपूर्वमा तनाव कम हुने र आपूर्ति अवरोध घट्ने अपेक्षाले लगानीकर्ताहरूले ठूलो मात्रामा बिक्री गर्न थालेपछि बजारमा तत्कालै गिरावट देखिएको हो। कारोबारको क्रममा जुलाईमा आपूर्ति हुने अमेरिकी कच्चा तेल (WTI) एक समय प्रति ब्यारेल ५.३५ डलरले घटेर ९१.२५ डलरमा पुगेको थियो, जुन करिब साढे पाँच प्रतिशतको गिरावट हो।

त्यसैगरी, ब्रेन्ट क्रुड पनि ५.५७ डलरले घटेर ९७.९७ डलर प्रति ब्यारेलमा झरेको थियो, जसमा करिब ५.३८ प्रतिशतको कमी देखिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँगको शान्ति सम्झौता धेरै हदसम्म नजिक पुगेको तर अन्तिम सहमतिका लागि अझै अमेरिका, इरान र क्षेत्रका अन्य देशबीच छलफल आवश्यक रहेको बताएका थिए। उनका अनुसार वार्तामा केही विषयमा सहमति भए पनि पूर्ण निष्कर्षमा पुग्न बाँकी छ।

प्रस्तावित योजनाअनुसार युद्धविराम विस्तार गर्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने, इरानलाई तेल बिक्री गर्न दिने र इरानको आणविक कार्यक्रमबारे विस्तृत वार्ता गर्ने विषय समेटिएको छ। यसले आपूर्ति मार्ग सहज हुने अपेक्षा बजारमा देखिएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले हर्मुज जलडमरूमध्य पुनः सञ्चालनतर्फ कदम चालेमा अमेरिका आणविक कार्यक्रमसम्बन्धी गम्भीर वार्तामा सहभागी हुन तयार रहने बताएका छन्।

यसैबीच, इरानको इस्लामिक क्रान्तिकारी गार्डले पछिल्लो २४ घण्टामा ३३ वटा जहाज हर्मुज जलडमरूमध्य पार गरेको जानकारी दिएको छ, जसले उक्त मार्ग आंशिक रूपमा सञ्चालनमा रहेको संकेत गर्छ।

ऊर्जा विश्लेषकहरूका अनुसार हालको भू-राजनीतिक अवस्था पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्नेछ। उत्पादन संरचनामा देखिएको क्षति, ढुवानी समस्या र केही क्षेत्रमा आपूर्ति अवरोध कायमै रहेकाले बजार पूर्ण रूपमा स्थिर हुन समय लाग्ने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *