`

यूएईमा मृत्युदण्ड सुनाइएका ओखलढुंगाका भुवन श्रेष्ठ र धादिङका पहलमान फर्किए नेपाल

Nepal One HD १६ साउन २०८१ १३:१९
प्रमुख खबर

काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसुङगढीका भुवन श्रेष्ठ र धादिङका पहलमान थापा मगर नेपाल फर्किएका छन् ।

उनीहरूले हत्या गरेको भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन् । भुवन साता र पहलमान मगर बुधबार बिहान काठमाडौं आइपुगेका हुन् ।

भुवन र पहलमानलाई नेपालीकै हत्या अभियोगमा युएईको अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । उनीहरूले नवलपरासीको मध्यबिन्दु ११ का बाबुराम आले मगरको हत्या गरेको आरोप छ । युएईको कानुनअनुसार पीडित परिवारले अदालतले दिने सजायमा रोज्न पाउँछन् ।

कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यसबापत रकम तिराउने (ब्लडमनी) भनेर अदालतले पीडित परिवारलाई सोध्छ । भुवन र पहलमानका परिवारको आग्रहपछि मृतक बाबुरामका परिवारले ब्लडमनी स्वीकार गरे ।

बुधबार बिहान त्रिभुवन विमानस्थलमा ओर्लंदै पहलमानले आफूहरूले हत्या नगरेको भए पनि झुटो आरोपमा फसाइएको बताए । उनीहरू मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका अभियान्ताको सहयोगमा नेपाल फर्कन पाएका हुन् ।


प्रतिक्रिया