मध्यपूर्वमा युद्ध भएमा के गर्ला सरकारले लेवनान, इजरायल र खाडीमा काम गर्ने नेपालीको उद्धारमा ?


डा. युवराज संग्रौला ।
इरानले फेरि इजरायलमाथि कारबाही गर्ने संभावना छ, के गर्ला सरकारले लेवनान, इजरायल र खाडीमा काम गर्ने नेपालीको उद्धारमा ? अन्तर्राष्ट्रिय गतिविधि भरपर्दो छैन । मध्यपूर्वमा युद्ध भुसको आगोजस्तो भित्रभित्रै बलिरहेको छ । अब युक्रेनबाट युद्धको स्थान मध्यपूर्वमा सर्न सक्ने खतरा बढेको छ। तर नेपालमा यस्ता कुरामा कसैको सरोकार हुँदैन ।
१. हमास र इजरायलका बीचमा भएको लडाईंको बारेमा नेपालमा छ्लफलसम्म भएन, जबकी यो घटना भविष्यमा एउटा क्रुर युद्धको संकेत हुनसक्छ । अब पश्चिम युक्रेनमा थकिसकेको छ । तर उसलाई युद्ध त चाहिएकै छ ।
२. इजरायलले लेबनान र इरानमा हेजुब्ल्लाह र हमासका शीर्षस्थ नेताहरुको हत्या गरेपछि त्यसको प्रतिकारमा इरानले इजरायलमाथि कारबाही गर्ने र सम्पूर्ण मध्यपूर्वमा युद्ध भड्किने सम्भावना बढेको छ । यो युद्ध इजरायल र अरबबीचको युद्ध हुनसक्ने अवस्था छ। यो युद्ध पश्चिम र पूर्वका बीचमा बिस्तार हुन सक्ने अवस्था छ ।
३. नेपालाका सम्बन्धित मन्त्रालयका मानिस र नेतालाइ यसबारेमा केही हेक्का होला ? जहाँसम्म लाग्छ, छैन । मध्यपूर्वमा लाखौं नेपाली छन् । यदि इरानले इजरायलका विरुद्ध कारबाही गर्यो भने ‘लेवनान, इजरायल, मोरक्को’ मा भएका नेपाली नागरिकको उद्धार कसरी गर्छ सरकार ? के यसबारेमा केही सोचेको छ, सरकारले ?’ दुःख को कुरा अहिलेपनि नेपालीहरु त्यता गइरहेका छन् । समयमै ध्यान पुर्याओस् सरकारले । लेवनान र इजरायलमा कार्यरत नेपालीहरुले तत्काल ध्यान दिने विषय हो यो ।
४. समस्त खाडी क्षेत्र असुरक्षित हुन सक्ने सम्भावना अन्तर्राष्ट्रिय विज्ञले बताइरहेका छन् । यस्तो अवस्थामा खाडी क्षेत्रमा रहेका लाखौ नेपालीहरु यो युद्धको चपेटामा पर्न सक्छन् । यस्तो भयो भने खाडी क्षेत्रबाट त्यत्रो संख्याको उद्धार गर्ने बारे नेपाल सरकारले के योजना बनाएको छ ? के सोच्नु भएको छ ?
५. १० महिनाअघि हमासको कब्जामा परेका बिपिन जोशीको उद्घार गर्न नेपाल सरकारले अहिलेसम्म सकेन । नेपालको कुटनीति कमजोर बनेको छ। उसको ज्यादा पश्चिम भक्तिले इस्लाम जमातमा तटस्थ देशको मान्यता भत्किएको छ । अन्यथा इस्लाम वा इरानकै सहयोग लिएर पनि जोशीको उद्धार हुन सक्थ्यो । दुर्भाग्य हो जोशीका बारेमा अहिलेसम्म खोजखबर गर्न नेपाल सरकार असमर्थ रहेको छ।
६. यदि यो अन्तर्राष्ट्रिय अवान्छित अवस्था घट्ने अवस्था आयो भने, के नेपाल यसपटक पनि भारतको गुहार गर्नेछ ?
समयमा सोच्नु राम्रो । नेपाली जनताले सोच्नुपर्छ । देशको आर्थिक अवस्था भत्किएको छ । बिचारबिमर्श नासिएको छ । राजनीति सत्ता र बौद्धिकत्ता सत्ताको पुजापाठमा मस्त हुन्छ । यस्तो अवस्थामा ‘लाखौं नेपाली’ अलपत्र पर्ने सम्भावना हुन्छ । उनीहरुले पठाएको रेमिट्यान्सले देश धानेको छ, के उनीहरुको सुरक्षाका बारेमा सोच्नुपर्दैन ?