`

अहङ्कारले कसैलाई पनि सधैंभरी रक्षा गर्न सक्दैन, यही हो बंगलादेशको आन्दोलनबाट लिनुपर्ने शिक्षा

Nepal One HD २३ साउन २०८१ ९:०५
अन्तर्वार्ता/बिचार

नारायणकाजी श्रेष्ठ ।
बंगलादेशमा करिब एक महिनादेखि चलिरहेको विद्यार्थी आन्दोलन, सरकारद्वारा गरिएको निर्मम दमन र गोली प्रहारको परिणामस्वरूप एकै दिनमा १०० जना सहित ३०० जनाको मृत्यु र अन्ततः आमजनताको सहभागितासहितको व्यापक जनआक्रोशको उत्कर्षको परिणाम स्वरूप १५ वर्ष देखिको प्रधानमन्त्री शेख हसिना राजको अन्त भएको छ । प्रधानमन्त्री हसिना साउन २१ गते( ५ अगष्ट ) पदबाट राजीनामा दिई विदेश पलायन भएपछि सम्पूर्ण विश्वले यतिबेला बंगलादेशको घटनालाई विभिन्न कोणबाट विश्लेषण गर्दै गम्भीरतापूर्वक अध्ययन गरिरहेका छन् ।

हामीले पनि बंगलादेश, छिमेकीहरु, क्षेत्र र विश्वमा यसले पार्ने प्रभावका बारेमा नजिकबाट अध्ययन विश्लेषण गर्नुपर्ने आवश्यकता छ ।
यस क्षणमा हामी विश्वसमुदाय सँगै बंगलादेशमा शान्ति, स्थिरता र लोकतन्त्रको पक्षमा रहन्छौ र त्यसको कामना गर्दछौं । सरकारले सीमा नाकाहरुकमा कडा निगरानी र सुरक्षामा ध्यान दिनु आवश्यक छ । हामीले अहिले नै बंगलादेशमा घटेको घटनाको सम्पूर्ण पाटापक्ष र यसले पार्ने प्रभावहरुका बारेमा निष्कर्ष निकाल्नु हतारो हुन सक्छ । तर यसबाट निम्न शिक्षाहरू लिन भने अरु समय लिइरहनु आवश्यक छैन ।

सत्ता, शक्ति, दम्भ, अहङ्कार, बदला र दमनले कसैलाई पनि सधैंभरी रक्षा गर्न सक्दैन । त्यस्तो पात्र, प्रवृत्ति र संयन्त्र स्थायी र टिकाउ हुन सक्दैन । अन्ततः सत्य र जनबलको नै जित हुन्छ र त्यसको अघि सबैले झुक्नै पर्छ । हामीले पनि समयमै यसलाई आत्मसात गरेर तदनुरूप आफूलाई फेर्न र प्रस्तुत गर्न सके मात्र जनताले हामीलाई रक्षा, बल र शक्ति प्रदान गर्नेछन् ।

अन्यथा त्यसको गम्भीर परिणामको सामना हामीले पनि गर्नैपर्ने हुन्छ । हामी नेपालका राजनीतिक पार्टी र तिनका नेताहरुले राष्ट्रिय स्वाधीनता एवम् नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा, राष्ट्रिय एकताको सुदृढीकरण, संविधान एवम् लोकतन्त्रको रक्षा, सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा आफूलाई रूपान्तरण सहित प्रस्तुत गर्नु आजको माग हो । यसलाई छिट्टै बुझौं र त्यस अनुसार व्यवहार गरौं । राजनीतिक पार्टीहरु र नेताहरू बदलिए तिब्र गतिमा नेपाल बदल्न सम्भव छ । नेपाली जनताले अहिले निर्देश दिइरहेको पनि यही हो, नेताहरू र दलहरु आफू बदलिऊ र देशलाई बदल र बनाऊ । यसलाई हलुको रुपमा नलिऔं ।


प्रतिक्रिया