संगठनमा माथिदेखि तलसम्म परिवारवाद हाबी भयोः उपमहासचिव शर्मा


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूविरुद्ध नेतृत्वले एकपछि अर्को प्रचारबाजी गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार पार्टी स्थायी समिति बैठकमा लिखित प्रस्ताव पेस गर्दै उपमहासचिव शर्माले पार्टीभित्र मुद्दा विशेषमा कमी कमजोरीबारे छलफल र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दैछ भन्ने हल्ला चलाइएको बताएका हुन् । उनले संगठनमा माथिदेखि तलसम्म परिवारवाद हाबी भएको बताए ।
उनले प्रस्ताव पेस गर्दै भनेका छन्, ‘माओवादी आन्दोलनमा आफ्नो जीवन समर्पण गरेका महिला, जनजाति, दलित, सिमान्तकृत, मधेसी, उत्पिडित वर्ग र समुदायहरु बिस्तारै आन्दोलनबाट अलग हुँदै गए । पार्टीलाई आम जनताबाट अलगथलग मात्र पारिएन। छरपष्ट हुँदै गएको जनमतबारे चिन्ता जाहेर गर्ने संस्थागत परिपाटी निर्माण हुन सकेन।’
शर्माले माओवादी पार्टी योजनाविहीन र सङ्गठनविहीन बन्न जाँदा माओवादीका एजेन्डाहरू खोसिँदै गएको उल्लेख गरेका छन् । शर्माले पार्टीलाई शक्तिशाली बनाउन वामपन्थी एवम प्रगतिशील शक्तिबीच अन्तरक्रिया, एकता र धुव्रीकरण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।













