`

‘बाढी प्रभावित सिन्धुपाल्चोकको समस्या समाधान गर्ने प्रतिबद्धता’

Nepal One HD २९ साउन २०८१ २१:४५
समाचार

सिन्धुपाल्चोक, २९ साउन : भौतिक योजना तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको टोलीले सिन्धुपाल्चोकमा भएका विपद् तथा विकासका कामको अवस्थाको अवलोकन गर्नुभएको छ । सो टोलीले आज जिल्लाको मेलम्ची, हेलम्बू, खाडीचौर, जुरे, बाह्रविसे, सुनकोशी, खागदल, ब्वाँसेरीलगायत स्थानमा विपद्बाट भएको क्षतिको निरीक्षण गरेको छ ।

विपद्ले पु¥याएको क्षतिको निरीक्षण, विकास आयोजनाको अनुगमन तथा विकास आयोजनाको आवश्यकताबारे मन्त्री दाहालले जानकारी लिनुभएको हो । अनुगमनको क्रममा खाडीचौरमा वर्षौदेखि निर्माणाधीन अवस्थामा अलपत्र रहेको पक्की पुल र बाह्रबिसे–त्रिपुरासुन्दरी जोड्ने सुनकोशी नदी पुलको अवलोकन गर्दै उहाँले तत्काल बाँकी काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

सडक विभागका महानिर्देशकसहित निरीक्षण टोलीले उक्त पुलको बाँकी काम तत्काल सम्पन्न गर्नेगरी आवश्यक प्रक्रिया सुरु गरिने बताएको छ । गत असारमा गएको बाढीले बगाएको खागदल खोलाको अवस्था पनि उक्त टोलीले निरीक्षण गरेको छ । नेपाल–चीनबीचको मुख्य व्यापारिक नाकासम्म उक्त अरनिको राजमार्गमा दुई साताभित्रै वेलिब्रिज निर्माण सम्पन्न हुनेगरी काम अगाडि बढाउन मन्त्री दाहालले निर्देशन दिनुभयो ।

बाह्रविसे–पिस्कर सडक, बाह्रविसे–बुधेपा–घोर्थली सडक स्तरोन्नति, बाह्रविसे वडा नंम्वर ६ र ७ जोड्ने ब्वाँसेरी मोटरेबल पुल, जुरे क्षेत्रको सडकको दिगो समाधानलगायत विषयमा स्थानीय, जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वले मन्त्री तथा सडक विभाग समक्ष ध्यानाकर्षण गराएका थिए । उक्त स्थानका अवस्थाको जानकारी लिँदै मन्त्री दाहालले सिन्धुपाल्चोकका विकास आयोजनाका समस्या तत्काल समाधान गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

यसैबीच बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले आज छापभन्ज्याङ–ठाँटीपोखरी–ढाँडखोला–फट्केश्वर सडक कालोपत्रेको शिलान्यास गर्नुभएको छ । सो अवसरमा मन्त्री मास्केले राजनीतिक आस्थाहरू फरक भए पनि सबै मिलेर सहकार्य गर्दै विकास गर्ने कुरामा हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । भूकम्प र बाढीले थलथलाएको सिन्धुपाल्चोकलाई अब सबै पार्टी मिलेर यहाँको समस्या समाधानमा लागि सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पूर्वभौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालले समयमै काम सम्पन्न गर्न र गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले पधेरेचौरदेखि फट्केस्वर सडकमा एक हप्ताभित्र टेण्डर आह्वान गरेर कालोपत्रेका लागी प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभयो । पूर्वसांसद सुवास कर्मचार्यले यस भेगबाट काठमाडौँ राजधानी जानलाई सबैभन्दा छोटो र पक्की भएकाले यो सडकको महत्त्व रहेको बताउनुभयो ।

मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले ठेक्का प्रक्रियामा जाँदा समयमै काम सम्पन्न नहुने, म्याद थप्दै काम गर्दै गर्नुपर्ने बाध्यताले गुणस्तरीय काम नहुने भन्दै यस्ता समस्या समाधान गर्न मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले सहज रुपमा काम सम्पन्न गर्ने वातावरण मिलाउन सबै स्थानीयलाई आग्रह गर्नुभयो ।
११ करोडमा ठेक्का लागेको सो सडक विसं २०८२ पुस १५ गतेभित्र सम्पन्न गर्नुपर्ने पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख भरतकुमार यादवले जानकारी दिनुभयो ।


प्रतिक्रिया