निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको जनाएको छ ।
निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रहेकामा एक सय ६२ रुपैयाँ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६९ रहेकामा एक सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ७० रहेकामा एक सय ६५ रुपैयाँ कायम गरिएको छ ।
साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ५५ रहेकामा एक सय ५२ रुपैयँ कायम गरिएको छ । साथै दोस्रो वर्गका लागि एक सय ५७ रहेकामा एक सय ५४ र तेस्रो वर्गका लागि एक सय ५८ रहेकामा एक सय ५५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । साथै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ ।
