`

हेटौंडाका व्यवसायीले व्यवसाय बन्द गरेर उपमहानगरलाई बुझाए साँचो

Nepal One HD ३२ साउन २०८१ ११:२६
अर्थ समाचार

मकवानपुर । कर वृद्धिको विरोधमा हेटौंडाका व्यवसायीले व्यवसाय बन्द गरेर उपमहानगरपालिकालाई साँचो बुझाएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धि विरूद्धको आन्दोलनलाई साथ दिंदै व्यवसायीहरूले शुक्रबार आफ्ना व्यवसाय बन्द गरेर उपमहानगर कार्यालयमा साँचो बुझाएका हुन् ।

नाराबाजी गर्दै उपमहानगरपालिकाको कार्यालय पुगेका व्यवसायीले मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँलाई साँचो बुझाएका थिए ।

उपमहानगरपालिकाले व्यवसायिक करको दर ३३ देखि १५० प्रतिशतसम्म बढाएको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा उद्योगी व्यापारी पाँच दिनदेखि आन्दोलनमा छन् । गत असार ७ गते भएको उपमहानगरको १५ औँ नगर सभाबाट राजश्व दरमा वृद्धि गर्ने निर्णय भएको थियो ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को लागि वाहलकरदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व वृद्धि गरेको छ । त्यसको विरोधमा व्यापारी आन्दोलनमा उत्रिएका हुन् ।

आर्थिक मन्दीको जटिल अवस्थामा स्थानीय सरकारले व्यवसायीलाई राहतको प्याकेज ल्याउनुको सट्टा करको दर बढाएको भन्दै संघको अगुवाईमा आन्दोलन भइरहेको हो ।


प्रतिक्रिया