`

विकासोन्मुख मुलुकहरूको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदैः अर्थमन्त्री पौडेल

Nepal One HD ४ भदौ २०८१ १२:११
अर्थ समाचार

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले विकासोन्मुख र अल्पविकसित मुलुकहरूको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘विकासका लागि वित्त’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले राजश्व परिचालन क्षमता कमजोर तथा सार्वजनिक ऋणको भार बढ्दै गएका कारण विकासका लागि स्रोतको जोहो गर्न चुनौतीपूर्ण बन्दै गएको बताएका हुन् ।

नेपाल जस्ता विकासोन्मुख मुलुकले राजस्वको अधिकांश हिस्सा सार्वजनिक ऋण भुक्तानीमा लगाउनुपर्ने बाध्यताका कारण सामाजिक सुरक्षा तथा विकासका गतिविधिमा सरकारको लगानी संकुचित हुँदै गएको पौडेलको भनाइ छ ।

उनले भने, ‘दिगो विकासको लक्ष्य हासिल गर्ने अभियानमा कोही नछुटून् भन्ने मुख्य नाराका साथ संयुक्त राज्य संघले विकासका लागि वित्त परिचालन गर्न जोड दिँदै आएको तथा विकासन्मुख र विकासशील मुलुकमा वित्त परिचालन नै मुख्य चुनौतीका रूपमा देखापरेको अवस्था छ । विकासोन्मुख र अल्पविकसित मुलुकहरूको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको र सार्वजनिक ऋणको भार बढ्दै गएको कारणले विकासका लागि स्रोतको जोहो गर्नु चुनौतीपूर्ण बन्दै गएको छ । राजश्वको अधिकांश हिस्सा सार्वजनिक ऋण भुक्तानीमा लगाउनुपर्ने बाध्यताले सामाजिक सुरक्षा तथा विकासका गतिविधिमा सरकारको लगानी संकुचित हुने देखिएको छ ।’

उनले सरकारले सामाजिक सुरक्षा र विकास निर्माणका काममा लगानी लगाउन नसक्दा दिगो विकासको लक्ष्य पूरा गर्ने संकल्पलाई धेरै टाढा धकेल्ने जोखिम बढ्दै गएको बताए । त्यस्तै, अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनको प्रभावबाट समेत विकासशील मुलुकहरू बढी प्रभावित बनेका बताए ।
उनले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि, विकास सहायताको घट्दो प्रविधिले विकासन्मुख र अल्पविकसित मुलुकहरू थप समस्यामा परिरहेको भन्दै चिन्ता व्यक्त गरे ।

आन्तरिक स्रोतको अभावमा विकास सहायतालगायत सम्भाव्य स्रोतको उपयोग गर्ने गरी विकास वित्तको खाका तयार गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।


प्रतिक्रिया