फेक अडियो उत्पादन गरी सीधा कुरामार्फत प्रकाशन गर्ने राजकुमार तिमल्सिना पक्राउ


काठमाडौँ । सीधा कुरा अनलाइनले प्रशारण र प्रकाशन गरेको डार्क फाइल रिपोर्टका सूचनादाता मानिएका राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।
तिमल्सिनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्ममी र पत्रकार समेतलाई लाञ्छित गरी फेक अडियो बनाएको प्रकरणमा उनी फरार थिए ।
तिमल्सिनाले तयार गरेको फेक अडियो ‘स्टिङ अपरेसन’को नाममा सीधा कुरा अनलाइनमार्फत् सार्वजनिक गरिएको थियो ।
उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २०८१ असार १३ गते विद्युतीय कारोबार ऐन र अपमानजनक कसुरविरुद्धको अपराध गरेको अभियोगमा तिमल्सिनासहित तीन जनलाई प्रतिवादी बनाएर १ लाख रुपैयाँसम्मको जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो । त्यसमध्ये तिमल्सिनासहित फेक अडियो सार्वजनिक गर्ने अनलाइन ’सीधाकुरा’का प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना फरार छन् ।
बुधबार तिमल्सिना पक्राउ परेपनि कँडेल र ढुंगाना भने अझै फरार रहेका छन् । यस प्रकरणमा सर्वाेच्च अदालतमा पनि तीनै जनाविरुद्ध अदालतको अबहेलनाको मुद्दा समेत विचाराधीन छ ।
उक्त अडियो जाँच गराइएकोमा प्रयोगशाला परीक्षणले सिधाकुरामा प्रसारित अडियो झूटा भएको र यसमा संलग्नविरुद्ध तीनवटा कसुरमा अनुसन्धान गरी कारबाही गर्नुपर्ने राय पेस गरेको थियो ।