इडिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ


काठमाडौं । नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-८ घर भई हाल महालक्ष्मी-४ इमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका-१० घर भई हाल महालक्ष्मी-५ टिकाथली बस्ने २८ वर्षीय अनिलकुमार महतो, झापा अर्जुनधारा नगरपालिका-८ घर भई हाल ललितपुरको इमाडोल बस्ने ५० वर्षीय गोपालप्रसाद घिमिरे र सङ्खुवासभा खाँदवारी नगरपालिका-९ घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका-५ बस्ने ४३ वर्षीय सुवास ढकाल रहेका छन् ।
उनीहरूलाई नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनका अनुसार नेपालस्थित अमेरिकन दूतावासमा इडिभी प्रयोजनका लागि एसइई र प्लस टुको नक्कली शैक्षिक प्रमाणपत्र बनाएर पेस गरेको भन्ने सूचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको हो ।
अमेरिकन राजदूतवास नजिकबाट पक्राउ परेका उनीहरूलाई लिखितसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको सूचना अधिकारी आचार्यले बताए ।