काठमाडौँ वर्ल्ड स्कुल बन्यो काभ्रे–भक्तपुर ‘हाफकोर्ट’ बास्केटवलको विजेता


भक्तपुर । काठमाडौँ वल्र्ड स्कुल भक्तपुर जिल्लाकै सर्वाधिक राशीको भक्तपुर–काभ्रे जिल्लास्तरीय हाफकोर्ट बास्केटवल प्रतियोगिताको विजेता बनेको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर ७ मा भएको प्रतियोगितामा काठमाडौँ वल्र्ड स्कुल विजेता बनेको हो ।
काभ्रे र भक्तपुरका गरी जम्मा १८ टीमले सहभागिता जनाएको प्रतियोगितामा आयोजक टीम उपविजेता बनेको छ । ११–१० को अन्तरले काठमाडौँ वल्र्ड स्कुल विजेता बनेको हो । विजेताले ५० हजार तथा उपविजेताले २० हजार नगदको साथमा शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिता सम्पन्न भएसँगै प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा तथा विशेष अतिथि जिल्ला समन्वय समितिका प्रमुख इश्वर बहादुर थापाले विजेतालाई नगद, शिल्ड तथा प्रमाणपत्र वितरण गरे । ‘स्वस्थ युवा, स्वस्थ समाज’ निर्माण गर्ने महत्वपूर्ण अभियानका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।
‘सवल राष्ट्र निर्माणको लागि स्वस्थ युवा, स्वस्थ युवाको लागि खेलकुद’ भन्ने मान्यतालाई आत्मसात् गर्दै मन्त्री थापाले ‘स्वास्थ्यका लागि खेलकुदमात्र नभई अब राष्ट्रका लागि खेलकुद’ हुनुपर्नेमा जोड दिए । खेलकुदलाई उत्पादन, रोजगारसँगै आर्थिक समृद्धिको आधारसँग जोड्ने अभियान चलाउनुपर्ने उल्लेख गर्दै मन्त्री थापाले खेलकुद स्वास्थ्यको ‘जीवन र जगत’ तथा ‘सामाजिक एकता र सद्भाव’को लागि भएको धारणा राखे ।
खेलकुद परिभाषाको लागि नभई परिवर्तन र मानिसको जीवन पद्धतिको रुपमा रहेको उल्लेख गर्दै मन्त्री थापाले खेलकुदकै माध्यमबाट विकास र समृद्धिको अभियानलाई तिव्र गतिमा लैजान सकिने बताए ।
भक्तपुरका विकास र समृद्धिको धरोहरको रुपमा रहनुभएका पूर्वमन्त्री महेश बस्नेतले जिल्लामा ल्याएको विकासका लहरले भक्तपुरको मुहार फेरिएको स्मरण गरे । बस्नेतले थालेकाा आयोजनाहरु सम्पन्न गराएरै छाड्ने उद्घोषसमेत गरे ।







