`

राष्ट्रिय युवा कविता उत्सवमा संयोग बस्यालको ‘सावधान’ प्रथम

Nepal One HD ७ पुष २०८१ १०:४०
समाज

हेटौंडा । बागमती प्रदेश सरकार मातहतको प्रदेश युवा परिषद् र साहित्य संगम मकवानपुरको सहकार्यमा आयोजित राष्ट्रिय युवा कविता उत्सव–२०८१ हेटौंडामा भव्य रूपमा सम्पन्न भएको छ ।

प्रतियोगितामा कास्कीका संयोग बस्याल प्रथम हुँदै नगद ४० हजार हात पार्न सफल भएका छन्। उनले ‘सावधान’ शीर्षकको कविता वाचन गरेर निर्णायकहरूको मन जितेका थिए ।

प्रतियोगितामा कास्कीका सुदर्शन पौडेलले ‘घर नफर्किएको छोराको सम्झनामा’ शीर्षकको कवितामा द्वितीय स्थान हासिल गर्दै नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

त्यसैगरी, उदयपुरकी सुमी पोखरेलले ‘समय दर्शक यन्त्रको पर्दा नियाल्दा’ शीर्षकको कवितामा तृतीय स्थान हासिल गर्दै २० हजार रुपैयाँ प्राप्त गरिन् । बझाङका महेश कठायतले ‘देश’ शीर्षकको कविताका लागि सान्त्वना पुरस्कार स्वरूप नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

यस पटकको कविता उत्सवका लागि देशभरबाट २ सय २३ कविता प्राप्त भएका थिए। तीमध्येबाट उत्कृष्ट २० कविताको सूची तयार पारिएको थियो। शनिबार आयोजित कार्यक्रममा छनोटमा परेका कविहरूले आफ्ना कविताहरू वाचन गरेका थिए।

प्रतियोगितामा पर्वतका तारानाथ पराजुली र संखुवासभाका सिजन श्रेष्ठ भने कार्यक्रममा सहभागी हुन सकेनन् ।
कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षता तथा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनप्रसाद महर्जनको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महर्जनले देशभित्रै युवालाई अवसर र सम्भावना प्रदान गर्नतर्फ सरकार प्रतिबद्ध रहेको बताए। कार्यक्रममा चर्चित कवि मोमिला जोशीको एकल कविता वाचन विशेष आकर्षण बन्यो।

उनले ‘भाव समर्पण’, ‘प्रेम’, ‘पीडा’, ‘प्यास र पानी’, ‘सूर्य समय’, ‘एउटा लालीगुराँस हराएको बेला’, ‘मात्र एउटा हाँगा काटिने’, ‘दोभन प्रहारबाट’, ‘नगरबधुको वक्तव्य’, ‘हिउँदको प्रथम वर्षात्’, ‘उकालोमा मेरो तस्बिर’, ‘तिमी र म’, ‘भीमसेन थापाको सुसाइड नोट’ शीर्षकका कविता वाचन गरेर उपस्थित सबैलाई भावविह्वल तुल्याइन्।


प्रतिक्रिया