सबै दलसँग सहमति जुटाएर संविधान संशोधनको प्रकृया सुरु हुन्छः गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनले समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ बनाउने बताएका छन् ।
मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सबै दलहरुसँग सहमति जुटाएर संविधान संशोधनको प्रकृया सुरु गर्ने बताएका हुन् ।
उनले चरणबद्ध रुपमा सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गर्ने र त्यसपछि विषयवस्तुमा सहमति गरेर संशोधन हुने बताए ।
उनले भने, ‘संविधान संशोधन छलफल प्रारम्भ गरेका छौं । संविधानको समीक्षा गर्छौं । विषयहरुको पहिचान गर्छौं । चरणबद्ध रुपमा सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गर्छौं र त्यसपछि विषयवस्तुमा सहमति गरेर संशोधन हुन्छ । संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्ने होइन थप सुदृढ बनाउने हो ।’
उनले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माणमा प्रतिवद्ध रहेको पनि बताए ।