`

वीपी भन्नुहुन्थ्यो-‘राष्ट्रलाई जोगाउन सबैभन्दा पहिलो कदम सहमति र एकता हो’

Nepal One HD १६ पुष २०८१ १३:१५
अन्तर्वार्ता/बिचार

डा. शेखर कोइराला ।
४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

नेपाली कांग्रेसका संस्थापक नेता महामानव, प्रजातान्त्रिक आन्दोलनका महानायक वीपी कोइरालाले २०३३ सालमा राष्ट्रको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताको रक्षार्थ ऐतिहासिक निर्णय लिनुभएको थियो। दर्जनौँ मुद्दा, फाँसीको सजायको जोखिम सामना गर्दै वीपीले राष्ट्रिय संकटको समयमा सम्पूर्ण नेपालीबीच एकता र सद्भावको आवश्यकता महसुस गरी मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको थियो।
पौष १६ को यो ऐतिहासिक दिनले वीपीको दूरदर्शी सोच र नेपाली जनताको साझा पहिचानको लागि देखाएको दृढता हामी सबैका लागि प्रेरणा हो । उहाँले मेलमिलापको नीति केवल राजनीतिक उद्देश्यका लागि मात्र नभई नेपाली समाज र संस्कृतिको एकताको प्रतीकका रूपमा अगाडि ल्याउनुभएको थियो । यही दिनको सम्झनामा नेपाली कांग्रेसले हरेक वर्ष यस दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ। मैले वीपीसँग त्यस समयमा गरेको संवाद आज पनि म भित्र जीवित छ। उहाँले भन्नुभएको थियो, ‘राष्ट्रलाई जोगाउन सबैभन्दा पहिलो कदम सहमति र एकता हो। विभाजनले मात्र राष्ट्रलाई कमजोर बनाउँछ।’ उहाँका यी शब्दहरूले मलाई मात्र होइन, सिंगो नेपाली कांग्रेसलाई अझ जिम्मेवार बन्न प्रेरित गरेको छ।

वर्तमान समयमा नेपालको राजनीतिक, सामाजिक, र आर्थिक चुनौतीहरूको समाधानका लागि वीपीको मेलमिलापको नीति झन् सान्दर्भिक बनेको छ। राजनीतिक दलहरूबीच राष्ट्रिय मुद्धामा सहकार्य, जनस्तरमा विश्वास र सद्भावको वातावरण र पार्टी भित्र बलियो एकता अहिलेको प्राथमिक आवश्यकता हो। नेपाली कांग्रेसलाई थप सक्षम, बलियो र मुलुकलाइ दिशा निर्देश गर्न र मुलुकको समस्याको समाधान गर्न तयार बनाउँदा वीपी कोइरालाको नीति हाम्रो लागि प्रेरणाको स्रोत बनेको छ। राष्ट्रिय एकता तथा मेलमिलापका सिद्धान्तलाई पछ्याउँदै हामीले विभाजन र वैमनस्य अन्त्य गर्दै शान्ति र समृद्धितर्फको यात्रामा एकीकृत हुनुपर्नेछ। यस अवसरमा सबै नेपालीलाई सहकार्य, सामूहिकता, र राष्ट्रिय अखण्डताप्रति समर्पित बन्न आह्वान गर्दछु।


प्रतिक्रिया