`

रिंकुकुमारी मृत्यु प्रकरण : घटना दबाउन पञ्चायती बस्ने ३ जनाविरुद्ध ५ दिन म्याद थप

Nepal One HD १३ फागुन २०८१ १२:०२
प्रमुख खबर

 काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाविरुद्ध म्याद थप भएको छ ।

 प्रहरीले उनीहरूमाथि सोमबार सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको हो ।

सिरहा प्रहरीले आइतबार मात्रै घटना दबाउन पञ्चायती बसेको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको थियो । ती मध्ये ३ जनाको भूमिका शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । उनीहरुमाथि हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले सोमबार सिरहा जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो ।

सोमबार मात्रै अदालतले ३ जनाविरुद्ध ५ दिनको म्याद थप गरेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए ।

उनका अनुसार म्याद थप भएर हिरासतमा हुनेहरुमा नवराजपुर गाउँपालिका–१ भगवतीपुर गाउँका करिब ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र ४५ कमलेशकुमार दास छन् ।

उनीहरूमाथि पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र गर्न गराउन संलग्न रहेको कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय लाहानको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

मृतक परिवारले गत फागुन ८ गते चारवटा मुद्दामा ८ जनाविरुद्ध पूरक जाहेरी दिएका थिए ।

गत माघ २७ को राति शौच गर्न बाहिर निस्केकी रिंकुकुमारी गाउँकै रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलको अपहरणपछि सामूहिक जबरजस्ती करणीमा परेका थिइन् । तर, पीडितलाई प्रहरीमा पठाउनुको साटो वडासदस्य नथुनी साह, रामपुकार मण्डल, रामपृत साह, रामकृपाल मण्डल, विन्देश्वरलगायतले घटना गाउँमै मिलाउन पञ्चायती गरेका थिए ।

माघ २९ र ३० मा गाउँकै दलानमा भएको पञ्चायतीले पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायतीमा आरोपितका आफन्त बीच नै पैसा तिर्ने विषयमा विवाद भएको थियो । त्यसपछि किशोरी ३० गते साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।


प्रतिक्रिया