प्रचण्डको तस्वीर जलाउने राप्रपाका युवा नेता पक्राउ


काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाउने राप्रपानिकट युवा संगठनका नेता निराजन बम पलाँतालाई प्रहरीले पक्राउ गरेको छ ।
भरतपुरबाट पक्राउ परेका उनलाई अहिले हेटौंडा ल्याउँदै गरिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा हिजो उनले प्रचण्डको तस्बिर जलाएका थिए ।
राप्रपा केन्द्रीय नेता तथा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह सहभागी कार्यक्रममा संगठनका सदस्य सचिव नीराजन बम पताँलाले पूर्वप्रधानमन्त्री प्रचण्डको तस्वीर जलाएका हुन् ।
प्रचण्डको तस्वीरमा आगो लगाउँदै उनले गणतन्त्र मुर्दावाद भने नारा लगाएका थिए । उनले कार्यक्रममा सहभागीलाई पनि प्रचण्ड हत्यारा मुर्दावाद भन्ने नारा लगाउन लगाएका थिए ।
बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर र भाइमाराको आरोप लगाउँदै कडा अभिव्यक्ति दिएपछि राजावादी दल राप्रपाले विरोध गर्दै आएको छ ।