हामी जे गर्छौं भनेरै गर्छौंः अध्यक्ष लिङ्देन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले निर्णय गरेअनुसार नै प्रदर्शन गर्ने बताएका छन् ।
आइतबार सामाजिक संजालमार्फत लिङ्देनले आफूहरु जे गर्ने हो, त्यो भनेरै गर्ने बताएका हुन् । राप्रपाले आज काठमाडौंमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने निर्णय यसअघि नै गरेको छ ।
उनले भनेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ । वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं। सरकारले नडराए हुन्छ।’
राप्रपाले यस्तो चुनौती दिएसँगै सरकारले बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । राप्रपाले निषेधित क्षेत्र तोड्ने बताएसँगै गृह मन्त्रालयले यसबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गृह मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन गरी समाजमा अशान्ति फैलाउने उद्देश्यले गरिने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको हो ।