समाचार

अनियमितता गर्ने करिब १९ सय व्यवसायी तथा उद्योगी कारबाहीमा

NepalOne
३ जेठ २०८२ १६:२३

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा एक हजार ८७२ उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ ।

कार्यालयका अनुसार आफूखुसी ढक तथा तराजु र (डिजिटल) नापतौल मेसिनको प्रयोग गर्नेहरुलाई जरिवानासहित कानुनी दायरमा ल्याइएको हो ।

कार्यालयका अनुसार चालु आवको साउनदेखि वैशाखसम्म गरिएको अनुगमनका क्रममा उनीहरुलाई कारबाही गरिएको कार्यालय प्रमुख सुनील यादवले जानकारी दिए ।

कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछापमा अनुगमन गरेको थियो । सो अवधिमा दुई हजार ३७२ जना व्यवसायीको नापतौल यन्त्रको जाँच गरिएको थियो ।

कार्यालयले सो अवधिमा एकल अनुगमन २९ पटक, व्यावसायिक फर्मको अनुगमन २७२ पटक, संयुक्त अनुगमन १८ पटक, व्यावसायीक फर्मको अनुगमन ४९९ पटक गरेको थियो । जसमा कार्यालयले विभिन्न शीर्षकमा ४१ लाख १२ हजार ८४० रुपैयाँ सङ्कलन गरेको छ ।

कार्यालयले गत आवको सोही अवधिमा र विभिन्न शीषर्कवाट तीस लाख ६३ हजार २४४ राजस्व रुपैयाँ सङ्कलन गरेको थियो । गत आवमा कार्यालयले एक हजार ९७५ कम्पनी अनुगमन गरी एक हजार ३९० कम्पनीलाई कारबाही गरेको थियो ।


प्रतिक्रिया