समाचार

नाम्खाका पहिरो पीडितको उद्धारमा जुट्न सरकारलाई प्रचण्डको आग्रह

NepalOne
५ जेठ २०८२ ७:४१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्लाको नाम्खाका पहिरोपीडितको उद्धार र राहतमा जुट्न सरकारलाई आग्रह गरेका छन् ।

सोमबार बिहान सामाजिक संजालमार्फत प्रचण्डले पहिरो पीडित राहत र उद्धारको पर्खाइमा रहेका तर सरकारको उपस्थिति नभएको भन्दै गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भनेका छन्, ‘हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँ लेदोसहितको पहिरोको जोखिममा रहेको खबरले गम्भीर बनाएको छ। हिमताल फुटेर पहिरो आएकोले वस्ती जोखिममा रहेको, पहिरोका कारण खानेपानीको संरचना, बाटो र पुलमा क्षति पुगेको, स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेका तर अहिलेसम्म सरकारको उपस्थिति नभएको कुराले झन गम्भीर बनाएको छ। तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपंक्तिलाई निर्देशित गर्दछु।’

उनले जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले यससम्बन्धी बहसलाई राजधानीमा मात्रै केन्द्रित नगरी सम्बन्धित क्षेत्रको वैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमा समेत ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया