समाचार

हिंसालाई धर्मसँग जोड्न नसकिने गृहमन्त्रीको भनाई

NepalOne
५ जेठ २०८२ १४:१७

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनालाई कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुसँगको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले हिंसालाई धर्मसँग जोड्न नसकिने बताएका हुन् ।

उनले भने, ‘हामी सबै धर्मप्रति सम्मान र मर्यादा गर्दै आ–आफनो धर्म मान्ने र अर्काको धर्ममा अवरोध नगर्ने पद्धति अपनाउँछौं । कुनै पनि धर्मलाई आफ्नो राजनीति अभिष्ट पूरा गर्नलाई प्रयोग गर्नु हुँदैन। कुनै पनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निम्ति प्रयोग गर्नुहुँदैन। तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै पनि धर्म र आस्थासँग जोड्न मिल्दैन।’

उनले आपराधिक कार्यमा संलग्न जोसुकै भएपनि कडाकारवाही हुने बताए। मन्त्री लेखकले उक्त घटनामा पक्राउ परेकामाथि अनुसन्धान र अभियोजनको काम भइरहेको जानकारी दिए ।

गृहमन्त्री लेखकले त्यस्ता खालका अपराधजन्य घटना हुन नदिन सरकार सचेत रहेको उल्लेख गरे । उनले तीनकुनेमा भएको हिंसात्मक घटनाको जिम्मेवारी आयोजकले नै लिनुपर्नेमा सरकार प्रष्ट रहेको बताए ।


प्रतिक्रिया