समाचार

ग्यास सिलिन्डर साट्दा अतिरिक्त मूल्य तिर्नुपर्ने व्यवस्था हटाउन सांसद कोइरालाको माग

NepalOne
६ जेठ २०८२ १२:०३

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्ने क्रममा सांसदहरूले नागरिकका जनजीविका, पूर्वाधार निर्माण, उपभोक्ता बजारका समस्या, प्राकृतिक विपद्लगायत विषयहरू उठाएका छन् ।

मंगलबारको बैठकमा सांसद रमा कोइराला पौड्यालले बजारमा खाना पकाउने ग्यासका सिलिन्डर धेरै कम्पनीको रहेको र कुनै सिलिन्डर अभाव हुँदा अर्को साट्न समस्या हुने गरेको विषय संसद्मा उठाइन् ।

कुनै एक कम्पनीको ग्यास सिलिन्डर साटेर अर्को कम्पनीको लिँदा ५०० देखि एक हजार रुपैयाँसम्म अतिरिक्त तिर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । यस विषयमा सम्बन्धित निकायबाट अनुगमन गर्न सांसद कोइरालाले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद अमनलाल मोदीले हुलाकी सडकको निर्माणमा ढिलाइ हुँदा सर्वसाधारण नागरिकले दुःख पाइरहेको बताए । संसद्मा आवाज उठाउँदा पनि हुलाकी सडक निर्माणमा तदारूकता देखिन नसकेको उनले उल्लेख गरे ।

अर्का सांसद छिरिङडम्डुल लामाले हुम्ला जिल्लामा हिमताल फुटेर बस्ती जोखिममा रहेको भन्दै लेदोसहितको पहिरोले लिमी तिल गाउँ जोखिममा परेको बताए । जोखिममा रहेका बस्तीमा उद्धारका लागि कुनै पनि निकायबाट पहल हुन नसकेको उनले उल्लेख गरे ।


प्रतिक्रिया