समाचार

‘मन्त्री र नेता अनावश्यक हेलिकप्टरमा जाने, तर हुम्लाका जनताको दुःखमा चाहिँ किन प्रयोग नहुने ?’

NepalOne
६ जेठ २०८२ १३:३८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीलाई राज्यले अन्याय मात्र नभइ अपराध गरेको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा शाहीले हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा बाढी आएको यत्रो दिनसम्म पनि सरकारको उपस्थिति नभएको भन्दै आक्रोश पोखेका हुन् ।

उनले हुम्लामा गएको लेदोसहितको पहिराका कारण पीडित भएका जनतालाई अहिलेसम्म उद्धार नगरिएको भन्दै चाँडोभन्दा चाँडो उद्धार गर्नका लागि आग्रह गरे ।

‘पहिरो गएको आज पाँच दिन नाघिसक्दा पनि राहतको कुनै टुङ्गो छैन । मन्त्री र नेता अनावश्यक हेलिकप्टरमा अरू बेलामा हिँड्न सक्ने तर जनताको दुःखमा चाहिँ हेलिकप्टर किन प्रयोग हुँदैन ? कर्णालीको जनतालाई अत्याचार गर्न बन्द गरियोस् । सरकारको दिमागमा जाम लाग्यो कि, आँखामा रतन्धो लाग्यो कि, कानमा ढुसी पर्यो, कि हेलिकप्टरमा खिया लाग्यो ?’

उनले सरकारले कर्णालीलाई अलग बनाउँछ भने राज्य व्यवस्थाबिना कर्णाली चलाएर देखाउने चेतावनी दिए । उनले यस विषयमा सभामुखलाई रुलिङ गर्न माग गरे ।


प्रतिक्रिया