नचाहिने कुरामा सधैं संसद बन्द हुँदैन, भोलिदेखि चल्छः प्रधानमन्त्री ओली

NepalOne १९ जेठ २०८२ १५:११
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु अलोकतान्त्रिक चरित्र भएको बताएका छन् ।

सोमबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मङ्गलबारदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने बताएका हुन् । उनले संसद यस्ता नचाहिने कुरामा सधैं बन्द नहुने भन्दै तयार भएर बस्न आफ्ना सांसदहरुलाई निर्देशन दिए ।

उनले आफूले प्रचण्डजी कुरा गर्न खोजेपनि उहाँ जानीजानी सम्पर्कमा आउन नचाहेको बताए । प्रधानमन्त्रीले भने, ‘नियमित संसद चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी दलकाप्रचण्ड’जी कुरा गर्न खोजें तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन । वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरु हुनुहुन्छ होला । यस्तो व्यवहार सधैं चल्दैन । केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ । गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यसकारण यस्ता कुरामा संसद अवरुद्ध हुँदैन । माननीयज्यूहरु तयार भएर बस्नुस्। भोलिदेखि सदन चल्छ ।’

सडकमा कुनै समूहले केही माग लिएर बस्दा पनि कुदेर गएर समर्थन गर्ने र सदन पनि अवरोध गर्ने यस्ता कामले प्रतिगमनलाई सहयोग पुग्ने र लोकतन्त्रलाई असहयोग हुने प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई संसदीय गतिविधिलाई महत्व दिन निर्देशन दिए ।

अर्थतन्त्र ओरालो लागेको तथा अराजकता र असन्तुष्टवादीहरुले विरोध गरिरहेका बेला बेग्लै चुनौतीको अवस्थामा बजेट आएको उल्लेख गर्दै उनले राजतन्त्र आजको बहसको विषय नै नभएको बताए ।

प्रधानमन्त्रीले सरकारको राम्रो काम नदेख्ने र असफलता गराउने खोज्ने ‘घण्टाकर्ण’ प्रवृत्तिहरु देखिएको बताए ।


प्रतिक्रिया