राइड सेयरिङलाई व्यवस्थित ढङ्गले चल्न दिनुपर्छः सांसद ज्वाला

NepalOne २० जेठ २०८२ १०:२२
प्रमुख खबर

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले यातायात व्यवसायीसँग भएको सहमतिले यातायातको क्षेत्रमा फेरि सिन्डिकेट भएको बताएका छन् ।

मंगलबार संसदको पूर्वाधार विकास समितिमा सांसद ज्वालालले सरकारले यातायात व्यवसायीसँग सम्झौता गरेर फेरि सिन्डिकेट कायम गरेको बताएका हुन् । उनले राइड सेयरिङलाई व्यवस्थित ढङ्गले चल्न दिनुपर्ने बताए ।

उनले भने, ‘हामी कतातिर जाँदै छौँ । पहिला तोडेको सिन्डिकेट फेरि कायम गरियो । सहमति आपत्तिजनक छ । यसले पब्लिकलाई ठूलो समस्या पार्छ । सार्वजनिक यातायातको सवालमा गण्डकी प्रदेश सरकारले ठिकै गरेको छ ।’

राइड सेयरिङलाई व्यवस्थित ढङ्गले चल्न दिनुपर्ने उनको भनाइ थियो । गएराति सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएको छ ।

गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए ।

सरकारी वार्ता टोलीका सदस्य एवं गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले गण्डकी प्रदेशले ल्याएको निर्देशिकाका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी प्रदेश कार्यालयमा अनुरोध गर्नेगरी सहमति भएको जानकारी दिएका छन् ।


प्रतिक्रिया