राजनीतिक बदलाको भावनाबाट प्रेरित भई मुद्दा चलाइयो, प्रतिवाद गर्छौंः एकीकृत समाजवादी

NepalOne २२ जेठ २०८२ २०:४४
प्रमुख खबर

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित रही पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेपछि एकीकृत समाजवादीले सरकारले षड्यन्त्र गरेको र यस्ता षड्यन्त्रको प्रतिवाद गर्ने बताएको हो ।

पार्टी महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गरी वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित भई मुद्दा लगाएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित रही हाम्रो पार्टीका विरुद्ध विगतदेखि नै षडयन्त्रहरू गर्दै आएको कुरा विभिन्न बेलामा देखिएको र तिनलाई हामीले सार्वजनिक गर्दै आएका थियौँ । यो हाम्रा विरुद्ध षडयन्त्र अर्को घटना हो भन्ने हाम्रो ठहर छ । त्यस्तो कुनै पनि षडयन्त्रको प्रतिवाद गरिने छ ।’

अध्यक्ष नेपालले ‘नबिराउनु नडराउनु’ भनेर आफ्नो प्रारम्भिक धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै विज्ञप्तिमा कानुनी प्रक्रियाको सामना गर्ने दृढता पनि अध्यक्ष नेपालबाट व्यक्त भएको जानकारी गराइएको छ ।

महासचिव भुसालले अख्तियारले दर्ता गरेको मुद्दाका बारेमा गरिने कुनै पनि कुप्रचार र भ्रममा नपर्न पार्टी पङ्ति र जनसमुदायलाई आह्वान पनि गरेका छन् ।

 


प्रतिक्रिया