कर्मचारीको तलब दोब्बर बनाउन माग

NepalOne २३ जेठ २०८२ १६:१५
प्रमुख खबर

काठमाडौं ।  राष्ट्रियसभाका सदस्यहरूले कर्मचारीको तलब दोब्बर बनाउन माग गरेका छन् । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सांसदहरूले कर्मचारीको तलब दोब्बर बनाउन माग गरेका हुन् ।

कांग्रेस सांसद जितजंग बस्नेतले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि निजामती कर्मचारीलाई प्रोत्साहन गर्न आवश्यक भएको बताए । आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै उनले बढ्दो महङ्गीलाई ध्यानमा राख्दै सरकारी कर्मचारीको तलब सुविधा दोब्बर बनाइनुपर्ने बताए ।

‘कर्मचारीले काम गरेनन्, कर्मचारी भ्रष्ट भए भन्ने धेरै सुनियो, साँच्चिकै कर्मचारी भ्रष्ट भएका हुन त ? बढ्दो महँगी र कालोबजारी छ, पिउनदेखि हाकिमसम्मको तलव स्केल हेरौँ, प्रहरी, सेनाको तलब र निजी क्षेत्रको तलब तुलना गरौँ, त्यो तलबले खर्च धान्न पुग्छ त ? त्यसैले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि कर्मचारीको तलब दोब्बर वा तीन गुणाले बढाउनुपर्छ,’ उनले भने ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट राम्रो र सन्तुलित रहेको उल्लेख गर्दै उनले बजेटको प्रभावकारी कार्यान्वयनका लागि सशक्त अनुगमन संयन्त्र जरुरी भएको बताए । ‘

बजेट सत्तारुढ दलको दस्तावेज मात्रै होइन, यो साझा राष्ट्रिय आकांक्षाको प्रतीक पनि हो,’ सांसद बस्नेतले भने, ‘बजेट केबल तथ्य र रकम मात्रै नभई देशको भविष्य देखाउने दिशामा अग्रसर देखिन्छ, बजेटप्रतिको जनअपेक्षा अनुरुप कार्य पूरा गर्ने प्रतिबद्धता हुनुपर्छ,’ उनले भने ।

उनले नारायणगढ-मुग्लिङ सडकखण्ड देशको ‘लाइफलाइन’ भएको र अर्बौं रकम खर्चिए पनि कहिले निर्माण पूरा हुने टुंगो नभएको बताए । साथै बाढीपहिरोका कारण अवरुद्ध भइरहने अवस्था अन्त्य गर्न वैकल्पिक मार्ग जरुरी भएको समेत उनले बताए ।


प्रतिक्रिया