प्रधानमन्त्रीपत्नीद्वारा कलाकार शर्माको चित्रकला प्रदर्शनी अवलोकन


काठमाडौँ, २३ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीपत्नी राधिका शाक्यले आज नेपाल कला परिषद् बबरमहलमा जारी अग्रज कलाकार हरिप्रसाद शर्माको चित्रकला प्रदर्शनीको अवलोकन भ्रमण गर्नुभएको छ ।
चित्रकार शर्माका ‘समयक्रममा नेपालः चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकको विशेष प्रदर्शनीमा पुगेर उहाँले कला अवलोकन गर्नुभएको हो । अठासी वर्षीय शर्माको यो पाँचौँ एकल कला प्रदर्शनी हो ।
अवलोकनका क्रममा शाक्यले इतिहासका विषयलाई राम्ररी संरक्षण गरेर कलामा उतारिएको सृजना हेर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । यसरी इतिहास, संस्कृति र जनजीवनलाई सुन्दर ढङ्गले संरक्षण गरेकामा उहाँले चित्रकार शर्मालाई धन्यवाद पनि दिनुभयो ।
बिहीबार शर्माको चित्रकला प्रदर्शनी अवलोकन गर्दै सभामुख देवराज घिमिरेले यहाँ नेपालको इतिहास, संस्कृति र जनजीवनका अद्वितीय चित्र हेर्ने अवसर प्राप्त भएको भन्दै खुसी व्यक्त गर्नुभएको थियो । उहाँले नेपालको इतिहास, संस्कृति र जनजीवन क्यानभासमा चिरस्थायी दस्तावेजका रूपमा बसेको उल्लेख गर्नुभयो ।
यसअघि यही जेठ २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उक्त कला प्रदर्शनी अवालोकन गर्नुभएको थियो । सो क्रममा उहाँले हाम्रो कला, संस्कृति कस्तो छ ?, कसरी विकास हुँदै आएको छ ? यो कुरा कलाकार शर्माले मेहनतका साथ प्रस्तुत गर्नुभएको बताउनुभएको थियो ।
प्रदर्शनीमा चित्रकार शर्माका ६० वटा चित्रकला प्रदर्शित छन् । चित्रहरूमा उपत्यकाको समृद्ध नेवारी लोकसंस्कृति, जनजीवन, तत्कालीन नेवारी परिवेश र प्रचलनलाई अनुभव गर्न सकिन्छ । विभिन्न संस्कृति र जनजीवनका कतिपय चित्रकला चित्रकार शर्माले आफ्नो बाल्यकालीन स्मृतिमा आधारित भएर कोरेको बताउनुभयो ।
सत्तरी वर्षअघि देखेका, भोगेका प्रसङ्ग, दृश्य र घटनालाई उहाँले आफ्नो कलामा जीवन्त रूपमा उतार्नुभएको छ । यसअघि शिक्षामन्त्री रघुजी पन्त, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्लेलगायतले उक्त कला अवलोकन गरिसक्नुभएको छ । नेपाल सम्पदा सङ्घको आयोजनमा भइरहेको प्रदर्शनी भोलिसम्म सञ्चालन हुनेछ ।