सप्तकोशीमा बेपत्ता सशस्त्र प्रहरीका गोताखोर सुरज साउदको शव फेला

NepalOne २५ जेठ २०८२ १२:०४
प्रमुख खबर

काठमाडौं । सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका गोताखोर सुरज साउदको शव फेला परेको छ । आइतबार बिहान कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकैबाट गोताखोर साउदको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

कुरिन्टारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएका गोताखोर डिएसपी पुरूषोत्तम भण्डारी नेतृत्वको टोलीले शव निकालेको हो। उनी बेपत्ता भएको चौथो दिनमा शव फेला परेको हो ।

उनीसँगै बेपत्ता भएका हरदेव राजवंशीको शव शुक्रबार फेला परेको थियो । बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा मनसुनजन्य विपद्को पूर्वतयारी स्वरुप प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यास क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए।


प्रतिक्रिया