मैले कुनै गुटगत राजनीति गरेको छैनः पूर्वराष्ट्रपति भण्डारी


विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक जीवन नै नेकपा एमालेबाट शुरू भएकाले सक्रिय राजनीतिमा आउँदा एमालेमै आउने बताएकी छन् ।
काठमाडौं फर्किने क्रममा मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले एकचोटी नाता जोडिएपछि सधैं रहिरहने बताएकी हुन् । उनले आफूले सधैं देश र जनताको पक्षमै काम गरेको र अब पनि त्यसबाहेक कुनै ठूलो आकांक्षा नभएको बताइन् ।
उनले भनिन्, ‘पार्टीगतरूपमा त म त्योभन्दा फरक रूपमा हेर्न सक्दिनँ । राष्ट्रिय राजनीतिमा देशलाई कसरी राम्रो हुन्छ भन्ने कुरामा मेरो जोड छ ।’ उनले आफूले देशभित्र घुम्न कसैको अनुमति लिनुपर्ने बताइन् । उनले भनिन्, ‘म सुरुदेखि नै पार्टीमा काम गरेको मान्छे हो । त्यसैले म देशभित्र घुम्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनु पर्दैन ।’
पूर्वराष्ट्रपति भण्डारीले आफूले कुनै गुटगत राजनीति नगरेको बताइन् । प्रधानमन्त्री ओलील राजनीतिमा फर्किने विषयलाई लिएर गरेको टिप्पणी आफूलाई नै ताकेर नगरको उनले बताइन् । उनले भनिन्, ‘अध्यक्ष ओलीजीले मलाई नै ताकेर भन्नुभयो होला भन्ने मलाई लाग्दैन । म कहिले गुट नबनाएको मान्छे त्यसो भन्न मिल्दैन । उहाँले पनि त्यस्तो भन्नुभएको होइन होला । तपाईंहरूले त्यस्तो अर्थ लगाउनुभयो कि ?’
अनेरास्ववियुको महाधिवेशन उद्घाटनमा प्रधानमन्त्री ओलीले बाहिर भ्रम फिँजाएर पार्टीलाई कमजोर बनाउने र पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्ने काम भइरहेको भन्दै यस्ता दुष्प्रयासलाई सोझै इन्कार गर्न निर्देशन दिएका थिए ।
उनले भनेका थिए, ‘अहिले हल्ला चलेको छ, तल तल यो ग्रुप भनेका छन् त्यो ग्रुप भनेका छन्। यो ग्रुप र त्यो ग्रुपको कुनै आवश्यकता छैन। यस्ता कुरालाई तपाईंहरुले सुन्नेबित्तिकै यस्ता कुरा नगर्नुस् भन्ने जवाफ दिइहाल्नुस्। फलानाका ग्रुप, यसका ग्रुप त्यो छोडिदिनुस्। अर्को खेल हुन खोजेको छ यहाँ, अब फलाना आउने अरे, फलाना आउने अरे, यस्तो यस्तो। पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणा भएको छैन। महाधिवेशनमा के गर्ने सरसल्लाह भएको छैन।’