भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माओवादीको माग


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भिजिट भिसा प्रकरणलाई तत्काल छानबिन समिति बनाएर गम्भीर ढंगले अध्ययन र छानबिन गर्न माग गरेका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने अडान राखेको भन्दै यस विषयलाई गम्भीररुपमा लिएर तत्काल छानबिन समिति गठन गर्न माग गरेका हुन् ।
उनले भने, ‘यसबारे गम्भीर ढंगले अध्ययन र छानबिन गर्न जरुरी छ । सबैले उठाउँदै आइरहेको विषय यही थियो । उहाँहरूले छानबिन समिति नबनेसम्म सदनअवरोध गर्ने कुरा जानकारी गराउनु भएको छ । सरकारले ३० दिनभित्र छानबिन समिति बनाउने उद्घोष गरिसकेको छ । हामीले त्यो कुरामा विश्वास पनि गरेको छौं । म सरकारसँग आग्रह गर्छु अब ३० दिन लगाउन जरुरी छैन, केहीदिन तत्काल गठन गरेर सबैको भावना केन्द्रिकृत गर्न सरकारलाई आग्रह गर्छु ।’
त्यस्तै उनले शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने सरकारले प्रतिबद्धता जनाएको स्मरण गर्दै कुनै बहानामा सो जिम्मेवारीबाट सरकार पन्छिन नमिल्ने बताए । निरन्तर नाराबाजी गरिरहेको रास्वपाले भने बस्नेतले बोल्ने क्रममा नाराबाजी रोकेर मौन समर्थन जनाएको छ ।