`

घरघरमा स्वास्थ्य कार्यक्रमबाट पोखराका ११ हजारभन्दा बढी लाभान्वित

Nepal One HD २७ असार २०८२ ११:३०
जीवनशैली/स्वास्थ्य

गण्डकी । पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’अन्तर्गत ११ हजार ८६२ जनालाई नसर्ने रोगको निःशुल्क परीक्षण तथा परामर्श सेवा प्रवाह गरेको छ ।

यही असार १ गतेदेखि बिहीबारसम्म महानगरका १० वटा वडामा सञ्चालित उक्त कार्यक्रमबाट ज्येष्ठ, अशक्त र असहाय नागरिक लाभान्वित भएका हुन् ।

कार्यक्रमका सहजकर्ता हरिलाल आचार्यका अनुसार वडा नं. १, ८, १०, १३, १४, १७, १८, १९, २० र २५ का टोलबस्तीमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

महानगरले आगामी आवमा पनि उक्त कार्यक्रमका लागि बजेट विनियोजन गरेको उनले जानकारी दिए । स्वास्थ्य महाशाखाको आयोजना र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको समन्वयमा पोखरा–८ सिमलचौरबाट सुरु गरी अन्य वडा तथा टोलमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख कुश्मराज सुवेदीले ज्येष्ठ तथा अशक्त नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती अभियान सञ्चालन गरिएको बताए । नसर्ने रोगको परीक्षणसँगै महिलालाई प्रजनन स्वास्थ्य, मनोरोग, सरुवा रोग तथा अन्य दीर्घरोगसम्बन्धी जानकारी दिइएको थियो ।

‘परीक्षण गरिएकामध्ये ६० प्रतिशतमा उच्च रक्तचापको समस्या देखिएको छ, मधुमेह, स्वासप्रस्वास, स्तन र पाठेघरको समस्या भएका बिरामी पनि पहिचान गरिएको छ’, उनले भने । वडा नं ८ का १७ वटा टोलमा घुम्ती शिविर सञ्चालन गरिएको थियो । उक्त वडाका एक हजार २०० जनाले सेवा पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *