रसुवा बाढीपछि स्वास्थ्य संकटको जोखिम, चिकित्सकद्वारा सतर्क रहन आग्रह
काठमाडौं । रसुवा बाढीपछि प्रभावित क्षेत्रमा दूषित पानी र अस्वस्थ खानपानका कारण संक्रमण फैलिन सक्ने भन्दै चिकित्सकले विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. अमित गौलीका अनुसार बाढीपछि झाडापखाला, पेट तथा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्न सक्छ । घाउचोटमा संक्रमणको जोखिमसमेत हुने भएकाले समयमै उपचार आवश्यक रहेको उनले बताए ।
मधुमेह, उच्च रक्तचाप, दम र क्यान्सरजस्ता दीर्घरोगी अझ जोखिममा हुने चिकित्सकको भनाइ छ । नियमित औषधि छुट्दा र नयाँ संक्रमण थपिँदा उनीहरूको अवस्था जटिल बन्न सक्ने भएकाले विशेष निगरानी आवश्यक छ ।
बाढीबाट घरबारविहीन र मानसिक तनावमा रहेका नागरिकको मनोसामाजिक अवस्थालाई पनि प्राथमिकता दिन चिकित्सकले सुझाएका छन् । प्रभावित क्षेत्रमा मनोपरामर्श सेवा विस्तार गर्नुपर्ने उनीहरूको भनाइ छ ।
सामान्य ज्वरो वा समस्या देखिँदैमा जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न चिकित्सकले आग्रह गरेका छन् । जीवनजल, सिटामोल, स्लाइन र ड्रेसिङ सामग्रीको पर्याप्त व्यवस्था गर्न तथा औषधि स्वास्थ्यकर्मीको सल्लाहमा मात्र प्रयोग गर्न सुझाव दिइएको छ ।
यसैबीच, भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङसहित विभिन्न जिल्लामा ठूलो क्षति भएको छ । प्रहरीका अनुसार हालसम्म १ हजार २०० भन्दा बढी शव फेला परेका छन् भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५०० विदेशी नागरिकसहित ४ हजार २१६ जना अझै सम्पर्कविहीन छन् ।
बाढीपछि करिब १२ हजार जनाको उद्धार गरिएको छ । उद्धार गरिएकालाई रसुवा, नुवाकोट, धादिङ र काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ ।
खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन भएका छन् । नदी किनार, जलविद्युत् आयोजना, बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी जारी रहे पनि क्षतिग्रस्त सडक र संरचनाका कारण उद्धार कार्य अझै चुनौतीपूर्ण बनेको छ ।
