`

काठमाडौं महानगरले आइतबार २५ अर्बको बजेट ल्याउने

Nepal One HD २७ असार २०८२ १५:५५
प्रमुख खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आइतबार बजेट ल्याउने भएको छ । शुक्रबार बसेको महानगरको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजेका लागि नगरसभा बैठक बोलाउने निर्णय गरेको हो । त्यसअघि बिहान ९ बजे कार्यपालिकाको बैठक बस्नेछ ।

शुक्रबार दिउँसो बैठक सुरु भएलगत्तै महानगरका मेयर बालेन साहले आज २४ वटा एजेन्डा रहे पनि एउटामात्र प्रस्ताव राख्ने बताएका थिए । मेयर साहले असार २९ गते दिउँसो २ बजे नगरसभा बैठक बोलाउने प्रस्ताव राखे । उपस्थित कार्यपालिका सदस्यहरूले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो । लगत्तै मेयर बालेनले बैठक सकिएको घोषणा गरेका थिए ।

त्यसअघि बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र राजश्व परामर्श समितिको बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोडको बजेट ल्याउने निर्णय गरेको थियो ।

बैठकमा मेयर साले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *