`

रास्वपाले उम्मेदवार छनोटका लागि बनायो कार्यविधि

Nepal One HD १ साउन २०८२ १७:३५
राजनीति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य निर्वाचन ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’का लागि उम्मेदवार छनोटको कार्यविधि सार्वजनिक गरेको छ ।

रास्वपाले बनाएको कार्यविधिमा नेतृत्व क्षमता, राजनीतिक निकटता, समावेशिता र आन्तरिक रूपमा हुने प्रारम्भिक निर्वाचनमा प्राप्त मतलाई उम्मेदवार छनोटको आधार बनाएको हो ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका सहमहामन्त्री विपिन आचार्यले रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि सोही कार्यविधिका आधारमा उम्मेदवार छनोट गरिने जानकारी दिए ।

“रुपन्देहीलाई प्रस्थान बिन्दु मानेर पार्टीले उम्मेदवार छनोट विधि पारित गरेका हो”, उनले भने, “पार्टीले छान्ने उम्मेदवार पार्टीको गतिविधिमा संलग्न, पदाधिकारीदेखि सदस्यहरूले रुचाएको र क्षमता वान व्यक्ति जसले देश र जनताका लागि योगदान दिन सक्षम हुनुहुन्छ, यस्तो उम्मेदवारलाई छनोट गर्ने गरी कार्यविधि बनाएका हौ ।”

पार्टीका प्रवक्ता मनिष झाले उम्मेदवारको स्वीकारत्व, व्यक्तित्व र क्षमता सधैँ हाबी हुने स्पष्ट पारे। रास्वपाले पार्टी स्थापना भएयता आन्तरिकरुपमा प्रारम्भिक निर्वाचन विधिबाट उम्मेदवार चयन गर्दै आएको बताउँदै आएको छ । सोही विधिमा थप परिमार्जन र परिस्कृत गर्दै नयाँ कार्यविधि बनाइएको जनाइएको छ ।

“लिडरसिप एकेडेमीमा २५ प्रतिशत, पोलिटिकल प्राक्सेमिटीमा २० प्रतिशत, समावेशितामा पाँच प्रतिशत र प्रारम्भिक निर्वाचनको नतिजामा ५० प्रतिशत अंकभार निर्धारण गरिएको छ”, प्रवक्ता झाले भने । पार्टीले एक साताभित्र उम्मेदवार छनोटको तालिका सार्वजनिक गर्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *