सुदूरपश्चिमका १३ क्याम्पसलाई आङ्गिक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण


बैतडी, ११ साउनः बैतडीका दुईसहित सुदूरपश्चिमका १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउन माग गरिएको छ ।
बैतडीको पुर्चौडी बहुमुखी क्याम्पस हाट र गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, दार्चुलाको शङ्करपुर बहुमुखी क्याम्पस पस्तीसहित सुदूरपश्चिमका १३ क्याम्पसलाई आङ्गिक बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियुका निर्वतमान उपाध्यक्ष गोविन्द गिरीले बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १३ क्याम्पसलाई आर्थिक वर्ष २०८२÷८३ मा सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिकको रुपमा समायोजन गरिदिन आग्रह गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । ‘सत्यसित नलड्ने र शक्तिसित नझुक्ने’ समाज निर्माणमा शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराइएको उल्लेख गरिएको छ ।
एमाले सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कञ्चनपुरको भानु बहुमुखी क्याम्पस दोधरा चाँदनी र कृष्ण वैजनाथ बहुमुखी क्याम्पस झलारी, अछामको अछाम बहुमुखी क्याम्पस, डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस, कैलालीको लम्की बहुमुखी क्याम्पस र घोडाघोडी बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउन माग गरेको छ ।
यस्तै बझाङको बझाङदीप बहुमुखी क्याम्पस र सुनकुडा बहुमुखी क्याम्पस, डडेल्धुराको भीमदत्त बहुमुखी क्याम्पस, कञ्चनपुरको महाकाली बहुमुखी क्याम्पस बेलौरीलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजन गर्न माग गरिएको छ । सुदूरपश्चिम प्रदेश भौगोलिक रूपमा विकट र विकासमा पछाडि परेको क्षेत्र भएकाले शिक्षामा गरिएको लगानीले बसाइसराइ नियन्त्रण, स्थानीय रोजगारीको सृजना र उत्पादनमुखी अर्थतन्त्रतर्फको यात्रा सहज बनाउने निर्वतमान उपाध्यक्ष गिरीले बताउनुभयो ।