बहुविवाहको कानुन ल्याउन लागेको भन्दै बिनु यादवको आमरण अनशन (तस्वीरहरू)


काठमाडौँ । सरकारले बहुविवाहलाई कानुनी मान्यता दिन सक्ने मस्यौदा ल्याउने तयारी गरिरहेको खबर बाहिरिएसँगै बिनु यादवले त्यसको विरोधमा माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेकी छिन्।
आफ्नै प्रेमीबाट बलात्कृत भएको भन्दै ७ वर्षदेखि न्याय माग्दै आइरहेकी बिनु यादवले माइतीघरमा बहुविवाह विरुद्ध सेतो सारी लगाएर आमरण अनसन बसेकी हुन् ।
प्रहरी, प्रशासन र अदालतमा धाइरहेकी तर कतैबाट न्याय पाउन नसकेकी उनी बहुविवाह गर्न पाउने कानुन ल्याउने सरकारको तयारीप्रति विरोध जनाउँदै सडकमा अनशनमा बसेकी हुन् । यसअघि उनी पटक-पटक माइतीघरमा अनशन बसिसकेकी छिन् ।
उनको लडाईँ २०७५ बैशाखबाट सुरु भएको थियो । उक्त समयमा उनी प्रेमीबाट बलात्कार भएको जाहेरी लिएर कालिमाटीस्थित प्रहरी कार्यालय पुगेकी थिइन् ।
त्यसपछि २०७६ मंसिरमा उनका प्रेमी रामेछापका प्रदीप कठायतसँग विवाह भएको थियो । विवाह भएर घर जाँदा उनले चरम घरेलु हिंसा भोग्नुपरेको उनको भनाई छ । उनका अनुसार उनलाई जबरजस्ती गर्भपतन समेत गराइएको थियो । उनका श्रीमान्ले बिनुविरुद्ध २०७७ सालमा सम्बन्धविच्छेद मुद्दा हालेका थिए ।
७ वैशाख ०७९ मा रामेछाप जिल्ला अदालतका न्यायाधीश बद्रिप्रसाद ओलीको इजलासले सम्बन्ध विच्छेद हुने फैसला गर्यो । सो समयमा बिनुले अदालतमै विष सेवन गरेकी थिइन् ।त्यसपछि उनी निरन्तर आफ्नो न्यायको लागि लड्दै आएकी छिन् ।
हेर्नुहोस् तस्वीरहरू :