अनेरास्ववियुको नेतृत्व हस्तान्तरण: शंकरदेव क्याम्पसमा दिनेश रेग्मी संयोजक


काठमाडौं । नेकपा एमाले निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को धुलिखेलमा बसेको प्रथम सचिवालय बैठकले धुलिखेल घोषणामार्फत विभिन्न संकल्प पारित गरेको छ ।
काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस, धुलिखेल काभ्रेमा संगठनका अध्यक्ष डा। सुजन कडरियाको अध्यक्षतामा बसेको बैठकले पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीले देखाएको मार्गमा अघि बढ्ने, पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको समृद्ध नेपाल, सुखी नेपालीको को राष्ट्रिय आकांक्षालाई आत्मसात गर्ने, शैक्षिक संस्थाहरुमा हुने हड्ताल, तोडफोड र बन्दको पूर्ण अन्त्य गर्ने, शिक्षामा समानता र पहुँच–समाजवादको आधार, पालिका पालिकामा अनेरास्ववियुको खबरदार ! भन्ने अभियानलाई बलियो बनाउँदै लैजाने संकल्प गरेको हो ।
बैठकले अनेरास्ववियुलाई वास्तविक विद्यार्थीहरूको संगठनको रूपमा स्थापित गर्न थप सक्रियताका साथ वैचारिकरूपमा सुदृढ संगठन निर्माण गर्दै, व्यवहारमा नवीन अभियानहरुको माध्यमबाट विद्यार्थी आन्दोलनको दिशालाई परिवर्तन गर्दै आन्दोलनलाई समसामयिक बनाउने अठोट लिएका लिएको छ ।
बैठकले नेताहरुले महिनाको एक दिन शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी वा सामुदायिक विद्यालयमा अनिवार्य स्वमंसेवकीय कक्षा लिने अभियान सञ्चालन गर्न र यसको कार्यान्वयन गर्न सम्पूर्ण मातहतका कमिटीहरुले कार्यक्रम बनाई लागु गर्न सर्कुलर जारी गरेको छ । त्यस्तै, निजी शैक्षिक संस्थाहरुले दिनुपर्ने अनिवार्य छात्रवृत्तिलाई प्रभावकारी कार्यान्वयनको लागि पहल गर्न र छात्रवृत्ति प्रदान गरिएको विवरणहरु अनिवार्य रुपमा सम्बन्धित शैक्षिक संस्थाको वेवसाईट र सूचना पाटीमा सार्वजनिक गर्न दबाबमुलक कार्यक्रमहरु आयोजना गर्न मातहत कमिटीहरुलाई निर्देशन दिइएको छ ।
संविधानमा मौलिक हकको रुपमा व्यवस्था गरिएको ’कक्षा १२ सम्म निःशुल्क शिक्षा’ सम्बन्धि व्यवस्थालाई पूर्ण कार्यान्वयन गराउन ७५३ वटै पालिकामा कम्तिमा एउटा विज्ञान, व्यवस्थापन, कानून, खेलकुद, शिक्षा र मानविकी विषय तथा प्राविधिक शिक्षाको कक्षा १२ सम्मको नमुना विद्यालयहरु सञ्चालन गर्नका लागि दबाबमुलक कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरिएको छ । देशभरका विज्ञान र आविष्कारमा रुचि भएका विद्यार्थीहरुलाई एकै ठाउँमा ल्याई उनीहरुको सिर्जनात्मकता, ज्ञान र सीपलाई प्रदर्शित गर्ने उद्देश्यले २०८२ मंसिर महिनामा राष्ट्रिय स्तरको विज्ञान तथा आविष्कार मेला आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले उपत्यका विशेष बागमती प्रदेश कमिटी मातहतका क्याम्पस कमिटीहरुका सम्बन्धमा २४ औं राष्ट्रिय महाधिवेशनमा उम्मेद्वार भएका कमिटी अध्यक्ष र नेतृत्व हस्तान्तरणका सन्दर्भमा देखिएका विवादहरु समाधान गर्दै संयोजक र सह-संयोजकको जिम्मेवारी दिएको छ ।
अनेरास्ववियु केन्द्रिय कमिटीको जारी सर्कुलरमा शंकरदेव क्याम्पसमा दिनेश रेग्मी सहित सह-संयोजकमा दिपक विक र किरेन्द्र साहिलाइ जिम्मेवारी हस्तान्तरण गरेको हो ।
त्यस्तै जनप्रशासन क्याम्पसमा महेशराज जोशी, विश्वभाषा क्याम्पसमा प्रविन नेपाली, सरस्वती बहुमुखी क्याम्पसमा चिरञ्जीवी पनेरुलाई संयोजक तोकिएको छ । त्यस्तै सरस्वती क्याम्पसमा विजयविक्रम केसी र विवेकराज जोशीलाई सहसंयोजक तोकिएको छ । सानोठिमी क्याम्पसमा निराजन थापा संयोजक, र चिरञ्जीवी वलीलाई सहसंयोजक तोकिएको छ ।