एउटै पालिकाका २ हजार ४३८ घर बाढीपहिरोको जोखिममा


ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिकामा दुई हजार ४३८ घर बाढीपहिरोको जोखिममा परेका छन् । भिरालो स्थान, खोला नजिक र सडक छेउका घर जोखिममा परेसँगै १३ हजार ५९७ जना स्थानीय प्रभावित बनेका हुन् ।
विसं २०७४ यता गाउँमा धेरै पहिरो जाने गरेको स्थानीय बताउँछन् । गाउँपालिकाको तथ्याङ्क अनुसार वडा नं २ मा दुई सय सात, वडा नं ३ मा एक सय ४०, वडा नं ४ मा चार सय, वडा नं ५ मा एक सय ७०, वडा नं ६ मा ३१ र वडा नं ७ मा पाँच सय ७० घर पहिरोको जोखिममा छन् ।
पहिरोले गाउँनै चिराचिरा परेपछि बर्खाको समय जोखिम मोलेर बस्नु परेको निसीखोला–१ हुल्दीकी हुमकुमारी मल्लले बताइन् । गाउँको बीचमा एउटा ठूलो पहिरो रहेको भन्दै उक्त पहिरो दशकौँ अगाडिदेखि निरन्तर बग्ने गरेको उनको भनाइ छ । आठ वर्ष अगाडिसम्म उक्त पहिरोले गाउँमा ठूलो क्षति नपुर्याएको बताउँदै विसं २०७५ देखि त्यसको असले गर्दा गाउँका विभिन्न स्थानमा जमिन भासिने र चिरिने गरेको मल्लले जानकारी दिइन् ।
निसीखोला–२ का पदमबहादुर विकले गाउँमा बाहेक अरु ठाउँमा जग्गा जमिन नहुँदा जोखिममा बस्नु परेको बताए । ठूलो पानी पर्यो भने सबै सरसामान बोकेर घर बाहिर निस्कने गरेको उनको भनाइ छ । हुने खाने बसाइँसराइ सरेर तराईतिर झरेका भन्दै उनले आर्थिक अवस्था कमजोर भएका गाउँमै बसेका बताए । सरोकार भएका निकायलाई गाउँको समस्याका बारेमा पटकपटक जानकारी गराए पनि अहिलेसम्म सुनुवाइ नभएको उनले गुनासो पोखे ।
निसीखोला गाउँपालिकाका अध्यक्ष मगरले जोखिममा रहेका बस्ती स्थान्तरणका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरिरहेको बताए । जनता आवास कार्यक्रमअन्तर्गत केही नागरिकलाई सुरक्षित स्थानमा सारेर घर निर्माण गरिएको उनले जानकारी दिए ।
अप्ठ्यारो भूगोलका कारण हरेक वर्ष बाढीपहिरोबाट यहाँका नागरिकले दुःख पाउँदै आएका उल्लेख गर्दै अध्यक्ष मगरले त्यसको दीर्घकालीन समाधानका लागि गाउँपालिकाले योजना बनाइरहेको बताए ।