जेल अनुगमनपछि आयोगले भन्यो- रविजीको कोठामा दुई पंखा छन्, झ्याल थुनिएको छ


बुटवल । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको भैरहवा कारागारको अनुगमन गरेका छन् । अनुगमनपछि मानवअधिकार प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् ।
आयोगकी सदस्य लिली थापाको नेतृत्वमा गएको टोलीले आज गरेको अनुगमनमा रविलाई ‘न्यूनतम सुविधा नदिएको’ पाइएको हो ।
अनुगमनबाट निस्किएपछि सदस्य थापाले रूपन्देही कारागारको २५० जनाको क्षमता रहेकोमा ७०० कैदी राखिँदा कैदीहरूको मानव अधिकारको अवस्था दयनीय बनेको बताइन् ।
क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिनु नै मुख्य समस्या भएको उनले बताइन् । त्यस्तै कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको उल्लेख गरिन् ।
यस्तै रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको, कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेस मा प्रयोग हुने ठूलो गरी दुई ओटा पंखा रहेको जानकारी दिइन् ।
थापाले भनिन्, ‘उहाँ बस्ने कोठामा पंखा छ । तर झ्यालहरू टालिएको रहेछ । जेल प्रशासनले सुरक्षाका लागि टालिएको भन्नुभयो । हाम्रो आग्रहपछि त्यसलाई खोल्न तयार हुनुभएको छ ’ ।
उनले कोठाभित्र एसी नदेखेको बताइन् । थापाले रविलाई स्थानान्तरणका लागि अनुमति नदिइएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिन् । ‘अदालतले भनिसक्दा पनि उहाँलाई जेल सार्न दिइएको रहेनछ । यस विषयमा कारागार व्यवस्थापन विभागसँग कुरा गर्छौँ,’ उनले भनिन् ।
कारागारमा पत्रपत्रिका नआउने भएकाले रविसमेत त्यो सुविधाबाट वञ्चित रहेको थापाले जानकारी दिइन् ।