एमसीए नेपालद्वारा १८० किमी प्रसारणलाइन बनाउन १५.४५ करोड डलरको सम्झौता


काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसिए) नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित ‘कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरिएको छ ।
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–नेपाल) ले शुक्रबार दुई प्रमुख विद्युत् प्रसारण लाइन निर्माण सम्झौता गर्दै आयोजना अगाडि बढाएको हो।
प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्रमार्फत रातमाटे–नयाँ दमौली प्रसारण लाइन निर्माणका लागि एञ्जलिक स्किपर संयुक्त उपक्रम र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माणका लागि वाइबा–सलासर संयुक्त उपक्रमसँग सम्झौता भएको हो।
संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेको यस सम्झौताअन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन हुने जनाइएको छ।
अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसिसीका कार्यवाहक उपाध्यक्ष, एमसिसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधि, अमेरिकी दूतावासका अधिकारीहरूको समुपस्थितिमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र उक्त दुई कम्पनीका प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
एमसीसीका कार्यवाहक उपाध्यक्ष विङ्गलले नेपालमा विद्युत् उपलब्धता र विश्वसनीयता सुधारका साथै क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धिमा सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताए।
अमेरिकी दूतावासका नियोग उप–प्रमुख जेसन मीक्सले यो सम्झौता नेपालप्रति अमेरिकाको स्थायी प्रतिबद्धताको मूर्त प्रतीक भएको उल्लेख गरे।
एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले अमेरिकी सरकारको निरन्तर सहयोग र पछिल्लो अनुमतिको सराहना गर्दै आयोजना सफल कार्यान्वयनमा सरकार र सरोकारवालाको साझा प्रतिबद्धता रहेको बताए।
६९ करोड ७० लाख अमेरिकी डलरको लगानीमा सञ्चालित एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण र सडक मर्मत आयोजना मार्फत पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार विस्तार र यातायात सञ्जाल सुधारमार्फत दीर्घकालीन आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्य राखेको छ।