कैलाली कारागार घटनापछि माग गरेबमोजिम स्थानान्तरण गरेर कैदीबन्दीको व्यवस्थापन गरिँदै


सुदूरपश्चिम, ३१ साउनः कैलाली कारागारमा भएको झडपको घटनापछि कैदीहरूले माग गरेअनुसार स्थानान्तरण गरेर व्यवस्थापन गरिने भएको छ । घाइतेहरूभई उपचार गरेर फर्किएपछि कैदीहरूले मागबमोजिमका कारागारमा स्थानान्तरण गरेर व्यवस्थापन गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अस्पतालबाट उपचार गरी फर्किए पनि थप समय स्वास्थ्यलाभ गर्नुपर्ने अवस्थालाई दृष्टिगत गरी तत्कालका लागि कैदीबन्दीले रोजेअनुसार अन्य कारागारमा पठाएर व्यवस्थापन गर्ने काम भइरहेको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “डिस्चार्ज भए पनि उहाँहरूलाई स्वास्थ्यलाभ गर्न थप समय चाहिने भएकाले त्यस पक्षलाई ध्यान दिएर तत्कालका लागि रोजेको कारागारमा पठाएर व्यवस्थापन गरिरहेका छौँ, कतिपयलाई कञ्चनपुर र डडेल्धुरा कारागारमा पठाएर व्यवस्थापन गरिरहेका छौँ ।”
हालसम्म अस्पतालबाट उपचार गरेर फर्किएकामध्ये छ जनालाई अन्य जिल्लामा पठाइसकिएको जोशीले जानकारी दिनुभयो ।
यही साउन २३ गते राति कैदीबन्दीबीच भएको झडपका एक जनाको मृत्यु र ४९ जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते कर्ण सलामी मगर, कल्पेस विष्ट र आयुस भट्टको काठमाडौँमा उपचार भइरहेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररतमध्ये नौ जनाबाहेक सबै फर्किइसकेका छन् ।
घटनाको छानबिन गर्न गठित समितिका सदस्यसचिव जोशीले घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । सुदूरपश्चिम प्रदेश सरकारले घटनामा मृत्यु भएका चौधरीका परिवारलाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरिसकेको छ । घटनापछि सरकारले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई फिर्ता गरेर कृष्णप्रसाद लम्साललाई जिम्मेवारी तोकेको छ ।