जापान सरकारको ३० अर्ब ८ करोड ऋण सहायता स्वीकृत


काठमाडौँ । सरकारले दुई दिनअघि (भदौ २ गते) बसेको मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
सरकारले जापान सरकारबाट प्राप्त हुने करिब ३० अर्ब आठ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको छ ।
भदौ २ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको हो ।
बैठकले समृद्धिका लागि वन परियोजनाको अनुदान तथा ऋण सम्झौताको संशोधन स्वीकृत गरेको छ भने नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझाले खराब आचरण प्रदर्शन गरेकाले पदबाट पदमुक्त गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।
त्यसै गरी थाइल्यान्डको बैंककमा भदौ १७ र १८ गते हुने हुने विश्व वित्तीय संरचनासम्बन्धी सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री आरजु राणालाई स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले बताए ।
मन्त्रिपरिषद्ले बालश्रम(निषेध तथा नियमित गर्ने) विधेयक २०८२ तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने, मालपोत (आठौँ संशोधन) नियमावली स्वीकृत गर्ने, राष्ट्रिय युवा नीति २०८२ स्वीकृत गर्ने लगायतका निर्णय गरेको छ ।