`

सिडिओले नै तीज पर्व रोक्न खोज्दा बैतडीमा झडपको स्थिति

Nepal One HD ५ भदौ २०८२ ११:२३
प्रमुख खबर

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–४ गढीस्थित श्रीकृष्ण मन्दिरमा प्रमुख जिल्ला अधिकारी(सिडिओ)ले तीज मनाउन रोक लगाएपछि झडपको स्थिति सिर्जना भएको छ ।

विगत पाँच दशकदेखि सो मन्दिरमा चल्दै आएको हरितालिका तीज मनाउने परम्परा रोक्न खोज्दा बुधबार राति स्थानीयबासी र प्रहरीबीच झडप भएको हो ।

प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बुधबार राति ९ बजे मन्दिर परिसरमा प्रहरी परिचालन गरी कार्यक्रम रोक्न प्रयास गरेपछि स्थानीय आन्दोलित बनेका थिए ।

समाजसेवी मोहन थापा, महिला अधिकारकर्मी सरस्वती नेपाली, कल्पना राना, तुलसी ठगुन्ना, वडा नं–४ का अध्यक्ष भानदेव भट्ट, कार्यपालिका सदस्य दिनेश सिनाललगायतले परम्परा रोक्न नहुने भन्दै सिडिओलाई ज्ञापनपत्र बुझाए पनि अस्वीकृत भएपछि अवस्था तनावपूर्ण बनेको स्थानीयले बताएका छन् ।

महिला अधिकारकर्मी तुलसी ठगुन्नाले भनिन्, “बिगत पाँच दशकदेखि चल्दै आएको परम्परा रोक्नु गलत कदम हो । सिडिओले प्रहरी परिचालन गरेर महिलामाथि धावा बोले, यसविरुद्ध अब हामी शसक्त आन्दोलनमा उत्रिनेछौं ।”

धार्मिक क्रियाकलापमा प्रमुख जिल्ला अधिकारीले हस्तक्षेप गरेपछि असामान्य स्थिति सिर्जना हुने आशंका बढेको छ । प्रमुख जिल्ला अधिकारीको कदमविरुद्ध स्थानीय महिला समूह मात्र नभई विभिन्न राजनीतिक दलहरूले पनि आपत्ति जनाएका छन् ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी पौडेलले भने अर्को पक्षका स्थानीयबासीको मागअनुसार तीज मनाउन रोक लगाउनु परेको प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *