`

मन्त्री यादवको निर्देशनपछि हैजा प्रभावित वीरगन्जमा टोली परिचालन

Nepal One HD ७ भदौ २०८२ १८:२४
जीवनशैली/स्वास्थ्य

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात वीरगञ्जको हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परिक्षणका लागि मोबाइल भ्यानसहितको टोली परिचालन गरिएको छ ।

वीरगञ्ज महानगरपालिकामा हैजा रोगका विरामी भेटिएपछि त्यहाँको खानेपानी परिक्षणका लागि आवश्यक सामग्रीसहितको मोबाइल भ्यान टोली खटिएको र टोलीले पानी परिक्षणको कार्य सुरु गरेको मन्त्री यादवले बताए ।
उनले भने, ‘तराई–मधेस सहित वीरगञ्ज क्षेत्रमा खानेपानीको समस्या छ । यतिबेला वीरगञ्जमा हैजाका बिरामीहरू देखिनु निकै चिन्ताको विषय हो । हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न टोली खटाएका छौँ ।’

यसैगरी मन्त्री यादवले हैजा नियन्त्रणका लागि सरकार पूर्णरूपमा संवेदनशील रहेको बताए । यादव पनि अहिले हैजा प्रभावित क्षेत्रमा पुगेर मुर्ली लगायतका क्षेत्रहरू तथा नागराणी अपस्तामा पुगेर त्यहाँ उपचार गराई रहेका बिरामीहरूको अवस्था, खानेपानीको स्रोत, सरसफाइ र ढल व्यवस्थापनको अवस्था अध्ययन गर्नुभएको उहाँको स्वकीय सचिवालयले जनाएको छ ।

प्रभावित क्षेत्रमा हैजा फैलिन सक्ने सम्भावना भएकाले पानी शुद्धिकरणका लागि ‘पियुष’ लगायतका आवश्यक सामग्रीहरू सहितको टोली तत्कालै वीरगञ्ज पठाइएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए । वीरगञ्जमा शुक्रबार तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *