राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
म्याग्दी। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढेको छ ।
रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झी को फेदीमा रहेको बाँधदेखि तिल्केनीचौरस्थित विद्युत् गृह जोड्ने छ किलोमिटर २७० मिटर लामो सुरुङ खन्ने क्रममा बिस्फोटक पदार्थको थर्कोले घर भत्किएका र चर्किएका प्रभावितलाई क्षतिपूर्ति वितरण गर्न लागिएको हो ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले सुरुङ मार्ग निर्माणबाट प्रभावित घरधनीलाई आवश्यक कागजातसहित आगामी मङ्सिर ४ गतेभित्र निवेदन पेस गर्न सार्वजनिक सूचना जारी गरिएको जानकारी दिनुभयो ।
“सुरुङ मार्ग निर्माणका क्रममा पूर्ण तथा आंशिक क्षति पुगेका घरहरुका साथै सुरुङ मार्ग निर्माणबाट प्रभावित अन्य घरधुरीको विवरण सङ्कलन, क्षतिको अभिलेखीकरण तथा आवश्यक प्रक्रिया अघि बढाउने प्रयोजनका लागि निवेदन सङ्कलन गर्न सुरु भएको छ”, उहाँले भन्नुभयो, “निवेदन सङ्कलन पछि मूल्याङ्कन गरी सरकारको मापदण्ड र प्रक्रिया पूरा गरी नियमसङ्गत ढङ्गले क्षतिपूर्ति वितरण हुुन्छ ।”
आयोजनाले यसअघि सर्जसाफ्ट, प्रेसर साफ्ट र अडित नम्बर ३ को सुरुङ वरपर कम्पनका कारण बस्न नमिल्ने भएका करिब ३० घरपरिवारलाई अस्थायी टहरा बनाउनका लागि न्यूनतम रु एक लाख ७५ हजारदेखि अधिकतम रु तीन लाखसम्म वितरण गरेको थियो ।
प्रभावित लेखनाथ शर्माले आयोजना, जिल्ला प्रशासन र गाउँपालिका जिम्मेवारीबाट पन्छिन खोज्दा प्रभावितले क्षतिपूर्ति पाउन ढिलाइ भएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय, गाउँपालिका र आयोजनाका प्राविधिकको टोलीले स्थलगत निरीक्षणका क्रममा सुरुङ क्षेत्रमा पर्ने ३५० भन्दाबढी घरमा क्षति पुगेको प्रारम्भिक विवरण तयार पारेको थियो ।
रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष खीमबहादुर शाहीले उक्त प्रतिवेदनप्रति अध्ययनमा सहभागी निकायकै जिम्मेवार व्यक्तिले अपनत्व नलिँदा प्रभावितले क्षतिपूर्ति पाउन ढिलाइ भएको बताउनुभयो ।
भौतिक संरचना निर्माण सकिएको राहुघाट जलविद्युत् आयोजनाले गत असोज पहिलो हप्तादेखि परीक्षण उत्पादन सुरु गरेको छ । भारतीय आयात निर्यात (एक्जिम)बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण गरिएको हो ।
कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । आइभिआरसिएलसँग विसं २०६६ मा ठेक्का सम्झौता भएको थियो । पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) ले २०७५ असारमा पहुँच मार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।
यस आयोजनाले वार्षिक रु २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।
