सभामुखको सचिवालयले भनेको छ, ‘राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको सूचना प्रकाशन गर्न सभामुखले आइतबार दिनभर गरेको प्रयास सफल हुन सकेन । अन्य दलको दाबी नरहेको अवस्थामा सभामुखले कांग्रेस प्रमुख सचेतकसँग दुई पटक छलफल गर्नुभएको थियो । तर आन्तरिक छलफल गर्नुपर्ने भएकाले सूचना रोकिदिन आग्रह गर्नुभएको थियो । आज बिहान कांग्रेस पदाधिकारी बैठकले टुंगो लगाउने उहाँको भनाइ छ । आज बिहान सूचना जारी गर्नैपर्ने नियमावलीको बाध्यात्मक परिस्थिति सभामुखले बताउनुभएको छ ।’
राज्य व्यवस्था समिति सभापति निर्वाचनका लागि कांग्रेसको निर्णय कुर्दै सभामुख


काठमाडौं – नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिको उम्मेवारको टुंगो नलगाउँदा निर्वाचनको सूचना प्रकाशन गर्न समस्या भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।
‘कुलिङ अफ् पिरियड’ प्रकरणमा संसदीय छानबिन समितिले नेतृत्वबाटै कमजोरी भएको निष्कर्ष निकालेपछि सभापति रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएका थिए। त्यसपछि सभापति पद रिक्त छ।
पद रिक्त भएको १५ दिनभित्र सभापति चयन गर्नुपर्ने बाध्यात्मक प्रावधान छ। खतिवडाले साउन २८ गते राजीनामा दिएकाले सोमबार निर्वाचन गर्नुपर्ने बाध्यता सभामुखसँग छ।
नयाँ सभापति चयन प्रक्रिया अगाडि बढाउन सभामुखले आइतबार दिनभरि गरेको प्रयास सफल नभएको उनको सचिवालयले दाबी गरेको छ।
कांग्रेसले उम्मेदवार टुंगो लगाएर पठाएमा निर्वाचन तालिका सार्वजनिक गर्ने बाटो खुल्ने छ। कांग्रेस र एमालेको सहमति रहेकाले यो पदमा अन्य दलको दाबी छैन।
निर्वाचनको सूचना प्रकाशनका लागि सभामुख घिमिरेले आइतबार कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेसँग पटकपटक छलफल गरेका थिए। कांग्रेस सचेतकले पार्टीको निर्णय पर्खिन अनुरोध गरेपछि निर्वाचन सम्बन्धी सूचना प्रकाशनमा ढिलाइ भएको हो।