`

मेस्सीको दुई गोलमा अर्जेन्टिनाको शानदार जित, ब्राजिलले पनि जित्यो

Nepal One HD २० भदौ २०८२ १०:५७
खेलकुद

काठमाडौं । फुटबलका जादुगर लियोनेल मेस्सीको दुई गोल मद्दतले अर्जेन्टिनाले विश्वकप छनोट खेलमा भेनेजुएलालाई ३–० ले पराजित गरेको छ । यो जितसँगै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा कायम राख्दै ३८ अंकका साथ तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।

तर, भेनेजुएलाको लागि भने यो हार २०२६ को विश्वकपमा पुग्ने आशामा ठूलो धक्का बनेको छ । ब्युनस आयर्सको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले सुरुदेखि नै दबाब सिर्जना गरेको थियो । खेलको ३९ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिला ए। उनको जादुई खुट्टाबाट निस्केको यो गोलले रंगशालामा उपस्थित हजारौं दर्शकलाई उत्साहित बनायो । पहिलो हाफमा अर्जेन्टिना यही अग्रताका साथ मैदानमा फर्कियो ।

दोस्रो हाफमा पनि अर्जेन्टिनाले आफ्नो आक्रामक खेल जारी राख्यो । ७६ औं मिनेटमा युवा स्ट्राइकर लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । यसपछि ८० औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अर्जेन्टिनालाई शानदार जित दिलाए । मेस्सीको अर्जेन्टिनाका लागि यो ११४ औं गोल हो ।

यो खेल लियोनेल मेस्सीको अर्जेन्टिनाका लागि घरेलु भूमिमा हुने अन्तिम प्रतिस्पर्धात्मक खेल हुन सक्ने अनुमान गरिएको छ । विश्वकप विजेता अर्जेन्टिनाले यसअघि नै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो । यता, भेनेजुएलाको लागि भने विश्वकप सपना जटिल बनेको छ । अब उसले अन्तरमहाद्वीपीय प्लेअफमार्फत मात्र विश्वकपका लागि अवसर पाउन सक्छ । त्यसका लागि पनि भेनेजुएलाले बोलिभियालाई पछि पार्नुपर्नेछ । हाल भेनेजुएला बोलिभियाभन्दा एक अंकले अगाडि छ । अन्तिम चरणको खेलमा बोलिभियाले बलियो ब्राजिलसँग खेल्नेछ भने भेनेजुएलाले कोलम्बियाको सामना गर्नेछ ।

अर्को खेलमा ब्राजिलले चिलिलाई ३–० ले पराजित गरेको छ । माराकाना स्टेडियममा भएको यस खेलमा ब्राजिलले सुरुदेखि नै खेलमा आफ्नो पकड जमाएको थियो । ब्राजिलका लागि एस्टेभाओले ३८औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । मध्यान्तरसम्म ब्राजिल यही अग्रता कायम राख्न सफल भयो । दोस्रो हाफमा लुकास पाक्वेटाले ७२औं मिनेटमा एल हेनरिकको पासमा गोल गर्दै ब्राजिलको अग्रता २–० मा पुर्‍याए । त्यसको लगत्तै, ७६औं मिनेटमा ब्रुनो गुइमारेसले तेस्रो गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *