`

खेलाडीको प्रदर्शन : वाक्क लाग्दो एन्फा, दिक्क लाग्दो नेपाली फुटबल {तस्वीरहरू}

काठमाडौं । नेपाली फुटबलमा विगत केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरुले प्रदर्शन र धर्ना दिएका छन् । बिहीवार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक घण्टा धर्ना दिएका हुन् । उनीहरुले एन्फा मुख्यालमा धर्ना दिएका हुन् ।

उनीहरुले एन्फा फुटबल एशोसिएसन कि कन्सलटेन्सी, विश्वकप त चार वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ? नो गेम, नो फ्रेम : एन्फाज टु ब्लेम, घरेलु लिग चलाऊ : फुटबल बचाऊ, वाक्क लाग्दो एन्फा : दिक्क लाग्दो नेपाली फुटबल, फुटबल क्यालेण्डरमा होइन, ग्राउण्डमा चाहियो लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

एन्फाभित्रको नेतृत्व विवाद र आर्थिक पारदर्शिताको मुद्दाले नेपाली फुटबललाई लामो समयदेखि गाँजेको छ । हालै धुलिखेलमा सम्पन्न साधारण सभामा, अध्यक्ष पंकजविक्रम नेम्वाङमाथि क्लवहरूले आर्थिक अनियमितताको आरोप लगाएका छन् । २०८२ मा फुटबल गतिविधिका लागि एक अर्ब ५६ करोड रुपैयाँ खर्च भएको एन्फाको दाबी छ । तर यो रकमको विस्तृत हिसाव सार्वजनिक नहुँदा केही क्लवहरूले असन्तुष्टि जनाएका छन् । यसबाहेक खेलाडीहरूको तलव र सुविधाको विषयमा पनि विवाद छ । गत सिजनमा केही क्लवहरूले खेलाडीहरूलाई समयमै तलव नदिएको गुनासो आएको थियो । यस्ता समस्याले युवा खेलाडीहरूको मनोबलमा असर परिरहेको फुटबल विश्लेषकहरूको भनाइ छ ।

तस्वीरहरु

हरि खड्का राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हरि खड्कालाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक नियुक्त गरेको छ । उनी आउँदो एएफसी एसियन कप २०२७ को छनोट खेलका लागि प्रमुख प्रशिक्षक नियुक्त भएको एन्फाले जनाएको छ ।

प्रमुख प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि एन्फाले अन्तरिम कालका लागि खड्कालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । उनले यसअघि राष्ट्रिय महिला टोलीको प्रशिक्षण गरेका थिए ।

 

फुटबलको महाभिडन्त आज : रियल म्याड्रिड र बार्सिलोना भिड्दै

काठमाडौं । विश्व फुटबलकै सबैभन्दा ठूलो ‘राइभलरी’ मानिने ‘एल क्लासिको’ मा आज राति दुई स्पेनिस महारथी रियल म्याड्रिड र बार्सिलोना भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने यो खेल नेपाली समयअनुसार राति ९ः०० बजे सुरु हुनेछ ।
स्पेनिस ‘ला लिगा’ को शीर्ष स्थानमा रहेका दुई टोलीबीचको यो भिडन्तले उपाधि होडमा समेत महत्वपूर्ण प्रभाव पार्नेछ ।

जाभी अलोन्सोको प्रशिक्षणमा रहेको रियल म्याड्रिड ९ खेलबाट २४ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ भने २ अंकले पछि रहेको डिफेन्डिङ च्याम्पियन बार्सिलोना २२ अंकसहित दोस्रो स्थानमा छ । आजको जितले रियललाई बार्सिलोनामाथि ५ अंकको स्पष्ट अग्रता दिलाउने छ।

लयमा रियल, चोटमा बार्सिलोना

रियल म्याड्रिड यस सिजन उत्कृष्ट लयमा देखिएको छ । लिगमा खेलेका ९ मध्ये ८ खेल जितेको रियलका लागि स्टार फरवार्ड केलियन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । १० गोलसहित उनी हाल ला लिगाका सर्वाधिक गोलकर्ता हुन् । उनले गत सिजन बार्सिलोनाविरुद्ध ४ खेलमा ५ गोल गरेका थिए । यता, बार्सिलोना भने प्रमुख खेलाडीहरूको चोटका कारण समस्यामा छ । स्ट्राइकर रोबर्ट लेवान्डोस्की, ड्यानी ओल्मो, राफिन्हा र गाभी जस्ता महत्वपूर्ण खेलाडीहरू घाइते छन् ।

यस्तै प्रशिक्षक हान्सी फ्लिक पनि रातो कार्डका कारण खेलमा अनुपस्थित रहने छन् । यद्यपि, च्याम्पियन्स लिगको पछिल्लो खेलमा ओलम्पियाकोसमाथि ६–१ को सानदार जित निकालेको बार्सिलोना उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । गत सिजन बार्सिलोनाले रियल म्याड्रिडमाथि दबदबा कायम राखेको थियो । लिगका दुवै खेल र अन्य कप प्रतियोगितामा गरी बार्सिलोनाले रियललाई चार पटक पराजित गरेको थियो । तर, यसपटक बलियो लयमा रहेको रियल घरेलु मैदानमा उक्त हारको बदला लिने दाउमा हुनेछ ।

 

 

आज नेपाल र इरानका महिला फुटबल टोली भिड्दै

काठमाडौं । भारतमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली आज इरानसँग खेल्दैछ । भारतको सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा हुने खेल नेपाली समयअनुसार शुक्रबार साँझ ६ः१५ बजे सुरु हुनेछ।सावित्रा भण्डारीको कप्तानीमा रहेको नेपालले इरानलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।

इरान पनि आफ्नो विजयी यात्रालाई कायम राख्न चाहन्छ । पहिलो खेलमा इरानले घरेलु टोली भारतविरुद्ध २–० को जित निकालेको थियो । पछिल्लो पटक इरान नेपालको भेट सन् २०१९ मा भएको थियो । भारतकै कालिङ्गा रङ्गशालामा भएको हिरो महिला कप फुटबल प्रतियोगितामा नेपाल विजयी भएको थियो । फिफा बरियतामा इरान ७०औँ स्थानमा छ भने नेपाल ८९औँ स्थानमा छ ।

नेपाली टोलिमा कप्तान भण्डारी साम्बासहित अनिता बस्नेत, अञ्जना राना मगर, एञ्जिला तुम्बापो सुब्बा, बिमला बिक, दीपा शाही, हिराकुमारी भुजेल, मनमाया दमाई, मिना देउवा र निशा थोकर छन् । त्यस्तै नेपाली टिममा प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु र उषा नाथ छन् । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साम्बाले इरानविरुद्ध मैदानमा उत्रिन आफूहरू सबै हिसावले तयार भएको बताएकी छन् । खेलका लागि नेपाली टोली भारत पुगिसकेको छ ।

कार्यवाहक अध्यक्ष खड्काले गरे एन्फा महासचिव राईलाई निम्बलन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक विवादले नयाँ रूप लिएको छ । कार्यवाहक अध्यक्ष रहेका वीरबहादुर खड्काले महासचिव किरण राईलाई निलम्बन गरेको सूचना दिएका छन् । एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिव राई दुवै अहिले साउदी अरबमा छन् ।

एसियाली फुटबल महासंघ (एएफसी) को कार्यक्रमका लागि उनीहरू उता गाएका हुन् । अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष रहेका खड्का कार्यवाहक अध्यक्ष भएका हुन् । उनले राईको नाममा कात्तिक २ आइतबार लेखेको पत्रमा निलम्बन गरेको सूचना दिएका हुन् ।
त्यस पत्रमा लेखिएको छ, ‘साधारण सभा र कार्यसमितिको म्यान्डेटलाई बेवास्ता गर्दै विधान, विधि र पद्धति विपरीत फुटबल खेलको विकासमै दीर्घकालीन असर पार्ने गरेर के कति आधारमा कसको निर्देशनमा कार्य गर्नु भएको हो ? भनेर तीन दिनभित्र स्पष्टीकरण सोधिएकोमा तपाईँबाट हालसम्म जवाफ प्राप्त नभएकोले अर्को कार्यसमितिको बैठकसम्मका लागि निलम्बन गरिएको छ ।’

पत्र अनुसार यो निलम्बन आइतबारदेखि नै लागू हुनेछ । एन्फा कार्यसमितिमा अहिले चर्को विवाद रहेको छ र त्यहाँ फरक फरक गुट रहेका छन् । वरिष्ठ उपाध्यक्षको यो निर्णयपछि विवाद अझ चर्किने तय छ । यसको कानुनी मान्यतालाई लिएर पनि प्रश्न उठ्ने छ ।

क्यालेन्डरमा नभई मैदानमा फुटबल चाहियो भन्दै एन्फा मुख्यालयमा धर्ना

काठमाडौं । नेपालको फुटबल खेललाई चलायमान बनाउन माग गर्दै नेपाली फुटबल समर्थकहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) को एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रदर्शन गरेका छन् । लामो समयदेखि ए डिभिजन लिग आयोजना गर्न नसकेको र एन्फालाई पारदर्शी ढंगले अघि बढाउन नसकेको भन्दै उनीहरुले आइतबार प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले विश्वकप ४ वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ?, फुटबल क्यालेण्डरमा होइन, मैदानमा चाहियो, घरेलु लिग चलाउ, फुटबल बचाउँ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

एन्फाले प्रभावकारी काम गर्न नसकेकाले नेपाली फुटबल चलायमान हुन नसकेकाले झकझकाउन प्रदर्शन गरिएको फुटबल समर्थक अनुप मल्लले बताए । फिफा र नेपाल सरकारबाट प्राप्त हुने बजेट समेत पारदर्शी ढंगले सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।

ए डिभिजन लिग आयोजना गर्न नसकेको ८५४ दिन हुँदा पनि एन्फा गम्भीर नभएको उनीहरुको आरोप छ । यसैबीच एन्फा र ए डिभिजन फुटबल क्लबबीच आइतबार हुने भनिएको बैठक समेत स्थगित भएको छ । आवश्यक तयारी नपुगेको भन्दै बैठक स्थगीत गरिएको एन्फाले जनाएको छ ।

डेम्बेलेले जिते बेलन डे’ अर

काठमाडौं । फ्रान्सेली फरवार्ड ओसमन डेम्बेलेले सोमबार पेरिसमा आयोजित विशेष कार्यक्रमबीच विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बेलन डे’अर जितेका छन् । उनको महत्वपूर्ण योगदानको मद्दतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गत सिजन युरोपेली च्याम्पियन्स लिग जितेको थियो ।

पीएसजीले आफ्नो इतिहासमा च्याम्पियन्स लिग जितेको यो पहिलो पटक हो । महिलातर्फको अवार्ड लगातर तेस्रो वर्ष आइटाना बोनमटीले जितेकी छिन् । डेम्बेले भने यो अवार्ड जित्ने छैटौं फ्रान्सेली खेलाडी भएका छन् । पीएसजीले पछिल्लो सिजनको च्याम्पियन्स लिग फाइनलमा इन्टर मिलानलाई ५–० ले हराएको थियो ।

यस्तै पीएसजीले फ्रान्सेली लिग र कप दुवै उपाधि पनि जितेको थियो । बोरुसिया डर्टमुन्ड र बार्सिलोनाबाट पनि खेलिसकेका २८ वर्षीय डेम्बेले सन् २०१८ को विश्वकप विजेता फ्रान्सेली टिमका सदस्य पनि हुन् । अवार्ड जित्ने होडमा बार्सिलोनाका किशोर खेलाडी लामिन यामल दोस्रो स्थानमा रहे ।

आज नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण फुटबल

काठमाडौं । नेपाल र बंगलादेशबीच आज (शनिबार) पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । काठमाडौंस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि खेल सुरु हुनेछ । फिफा विन्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ ।

नेपालको सिनियर टोलीले करिब २ वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको हो । कप्तान किरण चेम्जोङले घरेलु मैदानमा लामो समयपछि खेल्न उत्साहित रहेको र खेल पनि रोचक हुने अपेक्षा गरेको बताए । मुख्य प्रशिक्षक म्याट रसले जित निकाल्ने गरी खेल प्रस्तुत गर्ने बताएका छन् । उनले बंगलादेशको टोली राम्रो भएको र राम्रो प्रतिस्पर्धा हुने उल्लेख गरे ।

त्यस्तै बंगलादेशका प्रशिक्षक जेभियर क्याब्रेराले नेपाल आउनुअघि राम्रो तयारी भएको बताउँदै यहाँ आएर खेल्न उत्साहित रहेको बताएका छन्। कप्तान जमाल भुयाले पनि यो मैत्रीपूर्ण फुटबल खेलले एसियन कप छनोटको लागि राम्रो तयारी हुने बताए ।

दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ । दुई खेलपछि समग्र परिणामको आधारमा विजेता घोषणा गरिनेछ । दुवै खेलबाट स्पष्ट नतिजा नआए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता टुंग्याइने एन्फाले जनाएको छ । विजेताले ट्रफी र पदक प्राप्त गर्नेछन् ।

नेपाली टोलीमा को–को छन् ?
किरण चेम्जोङ, अविशेक लिम्बू, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, दिप कार्की, दिनेश हेन्जन, जिलेस्पी जगं कार्की, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रनदिप पौडेल, रोहन कार्की, रोहित चन्द, समीर तामाङ, सृजन राज, सुवास ठकुरी वम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ ।

मेस्सीको दुई गोलमा अर्जेन्टिनाको शानदार जित, ब्राजिलले पनि जित्यो

काठमाडौं । फुटबलका जादुगर लियोनेल मेस्सीको दुई गोल मद्दतले अर्जेन्टिनाले विश्वकप छनोट खेलमा भेनेजुएलालाई ३–० ले पराजित गरेको छ । यो जितसँगै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा कायम राख्दै ३८ अंकका साथ तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।

तर, भेनेजुएलाको लागि भने यो हार २०२६ को विश्वकपमा पुग्ने आशामा ठूलो धक्का बनेको छ । ब्युनस आयर्सको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले सुरुदेखि नै दबाब सिर्जना गरेको थियो । खेलको ३९ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिला ए। उनको जादुई खुट्टाबाट निस्केको यो गोलले रंगशालामा उपस्थित हजारौं दर्शकलाई उत्साहित बनायो । पहिलो हाफमा अर्जेन्टिना यही अग्रताका साथ मैदानमा फर्कियो ।

दोस्रो हाफमा पनि अर्जेन्टिनाले आफ्नो आक्रामक खेल जारी राख्यो । ७६ औं मिनेटमा युवा स्ट्राइकर लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । यसपछि ८० औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अर्जेन्टिनालाई शानदार जित दिलाए । मेस्सीको अर्जेन्टिनाका लागि यो ११४ औं गोल हो ।

यो खेल लियोनेल मेस्सीको अर्जेन्टिनाका लागि घरेलु भूमिमा हुने अन्तिम प्रतिस्पर्धात्मक खेल हुन सक्ने अनुमान गरिएको छ । विश्वकप विजेता अर्जेन्टिनाले यसअघि नै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो । यता, भेनेजुएलाको लागि भने विश्वकप सपना जटिल बनेको छ । अब उसले अन्तरमहाद्वीपीय प्लेअफमार्फत मात्र विश्वकपका लागि अवसर पाउन सक्छ । त्यसका लागि पनि भेनेजुएलाले बोलिभियालाई पछि पार्नुपर्नेछ । हाल भेनेजुएला बोलिभियाभन्दा एक अंकले अगाडि छ । अन्तिम चरणको खेलमा बोलिभियाले बलियो ब्राजिलसँग खेल्नेछ भने भेनेजुएलाले कोलम्बियाको सामना गर्नेछ ।

अर्को खेलमा ब्राजिलले चिलिलाई ३–० ले पराजित गरेको छ । माराकाना स्टेडियममा भएको यस खेलमा ब्राजिलले सुरुदेखि नै खेलमा आफ्नो पकड जमाएको थियो । ब्राजिलका लागि एस्टेभाओले ३८औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । मध्यान्तरसम्म ब्राजिल यही अग्रता कायम राख्न सफल भयो । दोस्रो हाफमा लुकास पाक्वेटाले ७२औं मिनेटमा एल हेनरिकको पासमा गोल गर्दै ब्राजिलको अग्रता २–० मा पुर्‍याए । त्यसको लगत्तै, ७६औं मिनेटमा ब्रुनो गुइमारेसले तेस्रो गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।